सौगात र दयाहाङ सौरभको ‘द राइज अफ साम्राज्य’मा

फिल्मी फण्डा ।  निर्देशक सौरभ चौधरीको महत्वाकांक्षी चलचित्र ‘द राइज अफ साम्राज्य’को छायांकन सुरु भएको छ । मंगलबार विराटनगरमा शुभमुहूर्त गर्दै चलचित्रको छायांकन थालिएको हो ।

‘द राइज अफ साम्राज्य’लाई निर्देशक चौधरीले यसपटक ठूलो क्यानभासमा निर्माण गर्न लागेका छन् । एपिक एक्सन ड्रामाका रूपमा निर्माण हुने चलचित्रको छायांकनका लागि ७० दिनको तालिका तय गरिएको छ । चलचित्रको अधिकांश छायांकन पूर्वी नेपालका विभिन्न स्थानमा गरिने निर्माण पक्षले जनाएको छ ।

चलचित्रमा नेपाली फिल्मका चर्चित तथा अभिनयमा अब्बल कलाकारहरूको बलियो टिम जोडिएको छ । सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल, अञ्जना बराइली, सुशील श्रेष्ठ र अमरप्रताप श्रेष्ठ प्रमुख भूमिकामा देखिँदैछन् ।

चलचित्रमा सौगात मल्लले निकै चुनौतीपूर्ण भूमिका निर्वाह गर्ने निर्देशक सौरभले बताएका छन् । एउटै पात्रको २५ वर्षको जवान अवस्थादेखि ८० वर्षको वृद्धसम्मको जीवन यात्रा सौगातले पर्दामा प्रस्तुत गर्नेछन् । लामो उमेर अन्तरलाई एउटै पात्रमार्फत अभिनय गर्नु सौगातका लागि समेत महत्वपूर्ण चुनौती बन्ने देखिएको छ ।

यस्तै, निर्देशक सौरभले पहिलोपटक अभिनेता दयाहाङ राईसँग सहकार्य गरेका छन् । दयाहाङलाई यसपटक दर्शकले फरक चरित्रमा देख्न पाउने निर्देशकको भनाइ छ । यसअघि ‘अगस्त्यः च्याप्टर १’मा सौगात मल्ल र विजय बरालसँग काम गरिसकेका सौरभले उनीहरूसँग पुनः सहकार्य गरेका हुन् ।

अभिनेता सुशील श्रेष्ठसँग पनि निर्देशक सौरभको करिब ६ वर्षपछि पुनर्मिलन भएको छ । सौरभको पहिलो निर्देशकीय चलचित्र ‘लभ डायरीज’मा सहकार्य गरेका उनीहरू ‘द राइज अफ साम्राज्य’मार्फत पुनः एकसाथ आएका हुन् ।

अर्का कलाकार अमरप्रताप श्रेष्ठले भने यही चलचित्रका लागि लामो समयदेखि तयारी गरिरहेका छन् । निर्देशक सौरभको निगरानीमा उनले करिब साढे दुई वर्षदेखि प्रशिक्षण लिइरहेको निर्माण पक्षले जनाएको छ ।

‘हामीले अभिनयमा अब्बल कलाकार भित्र्याएकोमा उत्साहित छु,’ निर्देशक सौरभले भने ।

‘द राइज अफ साम्राज्य’को कथा तथा पटकथा चर्चित उपन्यासकार बुद्धिसागरले लेखेका हुन् । डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रलाई निर्माण पक्षले नेपाली सिनेमाकै ठूलो स्केलको एक्सन चलचित्र बनाउने लक्ष्य राखेको छ ।

चलचित्रमा प्रवेश चौधरी र निला देव निर्माता रहेका छन् । विश्वास बस्नेत (बेन) को–प्रोड्युसर तथा शंकर पाण्डे कार्यकारी निर्माता छन् । मानकृष्ण महर्जन डीओपी तथा श्री श्रेष्ठ एक्सन निर्देशकका रूपमा जोडिएका छन् ।

चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ भने पब्लिसिटीको जिम्मेवारी टौवा स्टुडियोले सम्हाल्नेछ । चलचित्रको वितरण डिसीएनले गर्नेछ ।

ठूलो क्यानभास, एक्सनप्रधान कथा र सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराललगायत कलाकारको बलियो लाइनअपका कारण ‘द राइज अफ साम्राज्य’लाई प्रतीक्षित चलचित्रका रूपमा हेरिएको छ । पूर्वी नेपालका विभिन्न स्थानमा ७० दिनसम्म हुने छायांकनपछि चलचित्रको आगामी प्रदर्शन तथा प्रचार योजनाबारे निर्माण पक्षले जानकारी दिनेछ ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech