कहिलेसम्म टिकेट किन्ने निर्माता ज्यू ?

फिल्मी फण्डा । फिल्मको निर्माताको काम खास के हो ? यस्तो प्रश्नमा प्रायः सबैले बुझ्ने एउटै उत्तर हो, फिल्म निर्माणमा पैसा लगानी गर्ने । वास्तवमा निर्माताको काम फिल्ममा पैसा लगानी गर्ने मात्र होइन । तर नेपालमा पैसा लगानी गर्नेलाई नै निर्माता भन्दै आएका छन् ।

फिल्म बन्ने अवधारणादेखि फिल्म तयार भएर दर्शकमाझ पुगेसम्मको निर्माण प्रक्रियाको नेतृत्व र व्यवस्थापन गर्ने व्यक्ति वा संस्था नै फिल्म निर्माता हो । निर्माताले आफैं पैसा लगानी गरेको हुन सक्छ, तर निर्माता हुन आफ्नै पैसा लगानी गर्नैपर्छ भन्ने छैन । विश्वको फिल्म बजारलाई हेर्ने हो भने फिल्ममा पैसा लगानी गर्ने व्यक्तिलाई लगानीकर्ता (इन्भेस्टर) भनिन्छ । इन्भेस्टर आफैं निर्माता हुन सक्छ, तर सबै निर्माता इन्भेस्टर हुनुपर्छ भन्ने छैन । इन्भेस्टरलाई समन्वय गरेर कुनै एउटा फिल्मको सम्पूर्ण प्रोजेक्ट सम्हाल्ने काम निर्माताले गर्छ ।

तर नेपालमा फिल्ममा लगानी गर्नेदेखि प्रचार–प्रसार गर्ने, प्रदर्शनको प्राविधिक पक्ष सम्हाल्ने र हल–हलमा प्रचार सामग्री पठाउनेसम्मका काम निर्माता स्वयंले गर्दै आएका छन् । यतिमा मात्र नेपाली फिल्मी बजारमा निर्माताको काम रोकिँदैन । पछिल्लो दुई वर्षदेखि निर्माताका लागि अर्को काम पनि थपिएको छ । आफ्नो फिल्मको टिकट आफैं काट्ने र बजारबाट दर्शक खोजेर निःशुल्क टिकट दिएर हलका सिट भर्ने ।

भविष्यमा त्यसरी खोजेका दर्शकलाई खाजा खुवाउने खर्च पनि निर्माताले नगर्लान् भन्न सकिँदैन । पछिल्लो दुई वर्षदेखि निरन्तर भइरहेको काम यही हो । सम्पूर्ण लगानीदेखि फिल्मको व्यवस्थापनमा खर्च गर्नेसम्म र हलको टिकटसम्म आफैंले खर्च गर्नुपरेपछि त्यस्तो फिल्ममा लगानी गर्ने नै केका लागि ? आफैं टिकट काटेर दर्शकको ओइरो भनेर मख्ख पर्नुको मज्जा के हो ? अहिले निर्मातालाई सोधिने प्रश्न यही हो ।

पछिल्लो समय आफ्नो फिल्म हिट भएको दाबी गर्न, अरू फिल्मसँग प्रतिस्पर्धा गर्न वा फिल्म राम्रो छ भनेर भ्रम सिर्जना गर्न प्रदर्शनको सुरुवाती दिनमै निर्माता स्वयंले टिकट काट्दै आएका छन् । सबै नेपाली फिल्ममा यो लागू नहुन सक्छ । तर नेपालमा पछिल्लो समय औसत लगानीभन्दा माथि निर्माण हुने करिब ७५ प्रतिशत फिल्ममा यस्तै भइरहेको छ ।

कहाँबाट सुरु भयो टिकट किन्ने अभ्यास ?
हलिउड, बलिउड र कोरियन फिल्ममा पनि निर्माताले आफ्नो प्रदर्शन तथा प्रचार–प्रसार व्यवस्थापनअन्तर्गत फिल्ममा रहेका स्टार कलाकारका फ्यान क्लब तथा आफ्नो फिल्मसँग साझेदारी वा सहकार्य रहेका ब्रान्ड र कर्पोरेट संस्थामार्फत टिकट काटेर फिल्म हेर्ने चलन पहिलेदेखि नै छ ।

विशेषगरी फिल्म प्रदर्शनको सुरुवाती दिनमा फ्यान क्लब, कर्पोरेट वा ब्रान्डसँग जोडिएका संस्थाले ठूलो संख्यामा टिकट काट्दा सुरुवाती सबै शो हाउसफुल हुने र आम दर्शकले त्यसलाई फिल्मको ब्रान्ड भ्यालु तथा हिट भएको संकेतका रूपमा बुझ्ने भएकाले यस्तो अभ्यास सुरु भएको हो । दुई–तीन दिन यसरी फिल्म प्रदर्शन गर्दा फिल्म बलियो बनेको अवस्थामा लामो समय हलमा टिक्ने र बक्स अफिसमा राम्रो प्रभाव पर्ने हुन्छ ।

तर नेपालमा यसको गलत अभ्यास भयो । यहाँ कुनै फ्यान क्लब, कर्पोरेट वा ब्रान्डले टिकट काट्ने होइन, निर्माता आफैंले आफ्नो गच्छेअनुसार टिकट काट्ने र ती टिकट विद्यार्थी, होस्टेल, क्याफे, कफीसप तथा आम दर्शकलाई बाँड्न थालेका छन् ।

यस विषयमा बेला–बेला केही निर्माताले आफैं मुख खोल्दै आएका पनि छन् । यसो गर्दा केही फिल्मले फाइदा पनि पाए होलान् । तर अन्ततः यसले नेपाली फिल्म उद्योगको बजारमा लामो समयसम्म नकारात्मक असर पार्ने र बजारलाई डामाडोल बनाउने मात्र हो ।

यस विषयमा हलवालाहरू पनि खासै बोल्ने गरेका छैनन्, न त कलाकारहरू नै । बरु वितरक र कलाकारले निर्मातालाई उचालेर ‘सबैले किन्छन्, हाम्रो फिल्मको पनि अलि–अलि काट्नुस्’ भन्ने अवस्था बनाउने गरेका छन् । केही हलवालाले त दर्शकले काटे पनि निर्माताले काटे पनि हलको व्यापार नै हो भन्ने धारणा सार्वजनिक गर्ने गरेका छन् ।

हुन पनि हो, यसरी निर्माताको पैसाले टिकट खरिद गर्दा तत्काल हललाई फाइदा नै हुन्छ । किनकि आम्दानीबाट कर तिरेर बाँकी रहेको रकमको ५० प्रतिशत हिस्सा हलवालाले पाउँछन् ।

तर यसलाई गहिरिएर हेर्ने हो भने नेपालमा बस्दै गएको फिल्म संस्कृति विस्तारै अस्वाभाविक ढंगले अघि बढ्दैछ । अहिले दर्शकलाई टिकट काटेर फिल्म हेर्ने संस्कृति सिकाउनुपर्नेमा नेपाली फिल्म त निःशुल्क हेर्न पाइन्छ भन्ने सोच र अभ्यास निर्माताले नै सिकाइरहेका छन् ।

यसले भविष्यमा पनि नेपाली फिल्म निःशुल्क हेर्ने हो भनेर दर्शक कुरेर बस्ने वातावरण बन्न सक्छ । यसको दीर्घकालीन असर हलवाला, कलाकार र समग्र फिल्म उद्योगले भोग्नुपर्नेछ ।

बलिउडमा ‘पठान’, ‘जवान’, ‘एनिमल’, ‘सैयारा’ जस्ता फिल्ममा पनि निर्माताले आफैं टिकट काटेको आरोप लागेको थियो । केही निर्माताले फ्यान क्लब र कर्पोरेट शो भएको तर निर्माण पक्षले टिकट खरिद नगरेको दाबी गरेका थिए । त्यसबेला बलिउडका मिडियाले यसको विरोध गरेका थिए । अहिले बलिउडमा निर्माताले टिकट काट्ने काम लगभग बन्दजस्तै भइसकेको छ ।

यता नेपालमा सर्वाधिक कमाउने फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’देखि स्टार कलाकारका फिल्म ‘राम नाम सत्य’ हुँदै सामान्य फिल्म ‘हली’सम्मले टिकट काटेका उदाहरण छन् । यी केही प्रतिनिधिमूलक फिल्म मात्र हुन् । नेपालमा अहिले ७५ प्रतिशतभन्दा बढी फिल्मका निर्माताले यस्तै गरिरहेको देखिन्छ । टिकट काट्ने रकम पनि आफ्नो हैसियतअनुसार कसैले एक लाखको काटेका छन् भने कसैले ४० लाखसम्मको ।

अब सुध्रिने कि ?
अब पनि निर्माताले आफ्नै फिल्मको टिकट आफैं किन्ने काम बन्द नगरे यसले व्यावसायिक घाटा मात्र होइन, समग्र फिल्म उद्योगलाई नै नकारात्मक असर पार्नेछ । सामाजिक रूपमा निर्माताको प्रतिष्ठामा समेत प्रश्न उठ्नेछ ।

निर्माताले फिल्म बनाउँदा ‘यति लगानी गर्ने, बरु प्रचार–प्रसार र मिडिया चाहिँदैन, यतिको टिकट काट्ने’ भन्ने सोच हटाउनुपर्छ । निर्माणमै मेहनत गरेर उत्कृष्ट फिल्म बनाउन लाग्नुपर्छ ।

निर्मातालाई एउटा सुझाव छ– राम्रो पटकथामा राम्रो फिल्म बनाउनुहोस् । फिल्म र पात्रमा देखिने गरी खर्च गर्नुहोस् । फिल्मको राम्रो प्रचार–प्रसारका लागि मिडियामा आवश्यक खर्च गर्नुहोस् । यति गरियो भने आफ्नै फिल्मको टिकट काटिरहनुपर्ने अवस्था आउँदैन ।

नेपाली फिल्मको बजार बढाउन राम्रो फिल्म बनाउने, आफ्नो फिल्मअनुसारका दर्शक पहिचान गर्ने र ती दर्शकमाझ पुग्न प्रचार–प्रसारमा आवश्यक खर्च गर्ने हो । यसो गरियो भने कुनै पनि निर्माताले अब टिकट काट्नुपर्ने हुँदैन । त्यसैले अब निर्माताहरू आफैं सुध्रिनुपर्छ ।
माथीको तस्विर समाचारको लागि साँकेतिक रुपमा प्रयोग गरिएको पोष्टर मात्र हो ।

https://www.facebook.com/share/v/1c7rZaENjt/

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech