अटिजम भएकी दिदीको संघर्ष देखाउँदै ‘पार्वती’को ट्रेलर सार्वजनिक

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण पक्षले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै ४ मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलर ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । ट्रेलरमा फिल्मका मुख्य कलाकार नीता ढुंगाना र अशोक दर्जीबीचको दिदीभाइको आत्मीय सम्बन्धलाई केन्द्रमा राखिएको छ । अटिजम भएकी दिदीप्रति भाइको माया र दिदीको भाइप्रतिको भावनात्मक सम्बन्ध ट्रेलरमा देखाइएको छ ।

ट्रेलरमा अटिजम भएकी छोरीलाई उनका बुवाले विद्यालय भर्ना गराएपछि उनले भोग्नुपरेका सामाजिक व्यवहार र चुनौतीलाई पनि प्रस्तुत गरिएको छ । उनलाई जिस्क्याउने तथा त्यसको प्रतिकार गर्दा विभिन्न लाञ्छना लगाउने दृश्य ट्रेलरमा देखिन्छन् ।

नीता ढुंगानाको निर्देशनमा बनेको फिल्ममा नीता र अशोक मुख्य भूमिकामा छन् । उनीहरूसँगै दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, दिप्त प्रकाश अधिकारीलगायत कलाकारको अभिनय रहेको छ ।

फिल्मको कथा तथा पटकथा निर्देशक ढुंगानाकै हो भने स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन् । सुदीप बरालको छायांकन रहेको फिल्ममा रामजी लामिछानेको नृत्य निर्देशन छ ।

शंकर पाण्डे प्रोडक्सन म्यानेजर तथा कार्यकारी निर्माता हुन् भने हरिहर अधिकारी निर्माता रहेका छन् । फिल्मको सम्पादन तथा टिजर–ट्रेलर साहिल खानले तयार गरेका हुन् । पोस्टर डिजाइन रोयल भीमसेनले गरेका छन् ।

फिल्मको वितरणको जिम्मेवारी एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले लिएका छन् । डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ ।

यसअघि फिल्मका ‘नौ तुनाको रेल’ र ‘दिदीभाइ’ बोलका गीत सार्वजनिक भइसकेका छन् । फिल्मका गीतमा बाबुल गिरी, अशोक दर्जी, रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठको स्वर रहेको छ । बाबुल गिरीको शब्द तथा संगीत रहेको फिल्मका अन्य गीतमा हर्क साउदको शब्द तथा दीपक शर्माको संगीत छ । नरेन्द्र वियोगीले संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ गरेका हुन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech