फिल्मी फण्डा । रघुजी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको नेपाली फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’को छायांकन तेस्रो सातामा प्रवेश गरेको छ। अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा निर्माण भइरहेको फिल्म कमेडी जनरामा आधारित छ।
लामो समयदेखि चलचित्र पत्रकारितामा सक्रिय रघुनाथ सापकोटाको लगानी रहेको फिल्मको छायांकन काठमाडौं उपत्यका तथा आसपासका विभिन्न स्थानमा भइरहेको छ।
निर्माण पक्षका अनुसार नेपाली फिल्म उद्योगमा नयाँपन प्रस्तुत गर्दै आफ्नै छुट्टै ब्रान्ड स्थापित गर्ने उद्देश्यसहित रघुजी फिल्म्सले दीर्घकालीन योजना अघि बढाएको छ। निर्माता सापकोटाले यस फिल्मको छायांकन सम्पन्न हुनेबित्तिकै यसअघि घोषणा गरिएको अर्को फिल्म निर्माणमा जाने तयारी रहेको बताएका छन्।
‘तीन तीघ्रे क्या बिग्रे’मार्फत पाँच कलाकारले नेपाली फिल्ममा डेब्यु गर्दैछन्। लोकगायक पशुपति शर्माले पहिलोपटक ठूलो पर्दामा अभिनय गर्दैछन्। त्यस्तै, ‘कमेडी च्याम्पियन’बाट चर्चित प्रभात लामा, गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्त, टेलिशृंखलाबाट परिचित समिया कार्की र कमेडी कलाकार बेगम नेपालीले पनि यही फिल्मबाट प्रमुख भूमिकामा डेब्यु गर्दैछन्।
निर्माण पक्षका अनुसार नयाँ कलाकारको संयोजन र फरक कथावस्तुका कारण फिल्मले सुरुदेखि नै दर्शक र फिल्मकर्मीको चासो बटुल्न थालेको छ।
फिल्मको छायांकन संकल भुजेलले गरिरहेका छन्। निरज नेपाल कार्यकारी निर्माता रहेको फिल्ममा सगुन तामाङ मुख्य सहायक निर्देशक छन्। उत्सव पौडेल, सबिता रेग्मी र धर्मेन्द्र केसी सहायक निर्देशकका रूपमा छन्। गणेश बानियाँ कला निर्देशक, शमशेर लामा मेकअप प्रमुख तथा जीवन पोखरेल भेषभूषा प्रमुख हुन्।
फिल्ममा पशुपति शर्मा, परितोषिका पन्त, समिया कार्की, प्रभात लामा, पृथ्वीराज प्रसाईं, सृजना कोइराला, प्रजल दुलाल, गौतम महत, निरज नेपाल, लेखान्त भुषाल, बिरबल घले, सुनिल कटुवाल, निशान थापा, रविन बिमली, नारायण विक, विनोद केसी, लीसा क्षेत्री, सुरेश तिमल्सिना, राजु तिमल्सिना, रमेश बुढाथोकी, आयुष्मा गिरी र पवन खतिवडा ‘बाबा’लगायत कलाकारको अभिनय रहनेछ।
फिल्मको वितरण अधिकार आरआर फिल्म्सले लिएको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलले प्राप्त गरेको छ।