विजय बरालको चोटपछि रोकिएको ‘सिन्दुरे जात्रा’को छायांकन सम्पन्न

फिल्मी फण्डा। फिल्म‘सिन्दुरे जात्रा’को छायांकन सकिएको छ। पहिलो र दोस्रो चरणमा सम्पन्न गरिएको फिल्मको छायांकन मंगलबार सकिएको हो।

 

गत जेठ १ गते पर्वत जिल्लाको कुस्मा नगरपालिकास्थित आर्थर डाँडाखर्कको रमणीय भूगोलबाट फिल्मको छायांकन सुरु गरिएको थियो। तर, छायांकनको यात्रा भने सहज रहेन। १५ दिनको छायांकन सकिएलगत्तै मुख्य अभिनेता विजय बराल घाइते भएपछि निर्माण कार्य केही समयका लागि स्थगित गर्नुपरेको थियो।

 

उनको दाहिने हातको नाडीमा चोट लागेको थियो। विजय पूर्ण रूपमा स्वस्थ भएपछि दोस्रो चरणको छायांकन पुनः सुरु गरिएको थियो, जुन मंगलबार सम्पन्न भएको हो।

 

दुई चरणमा सम्पन्न गरिएको फिल्मको छायांकनका लागि ४० दिन लागेको निर्देशक सरोज पौडेलले जानकारी दिए। उनले राम्रो फिल्म बनाउन कलाकार र प्राविधिकले अथक मेहनत गरेको भन्दै सम्पूर्ण टिमलाई धन्यवाद दिएका छन्।

 

“हामीले धैर्य र मेहनतका साथ राम्रो फिल्म बनाउने प्रयास गरेका छौँ। यो मेहनत र समर्पणका लागि म सम्पूर्ण टिमलाई धन्यवाद भन्न चाहन्छु,” निर्देशक पौडेलले भने, “मंसिर ४ गते दर्शकले हलमा एउटा राम्रो फिल्म हेर्न पाउनु हुनेछ।”

 

‘सिन्दुरे जात्रा’ मार्फत निर्देशक सरोज पौडेल तथा कलाकारद्वय विजय बराल र अञ्जना बराइलीले दोस्रो पटक सहकार्य गरेका छन्। यसअघि उनीहरूले नेपाली फिल्म इतिहासकै सर्वाधिक सफल फिल्ममध्ये एक ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरेका थिए।

 

चोटका बाबजुद छायांकन पूरा गरेका अभिनेता विजय बरालले यस फिल्मलाई आफ्नो लागि चुनौतीपूर्ण र सन्तोषजनक अनुभव भएको बताएका छन्। उनले भने, “हातको चोटका कारण यसपटकको छायांकन केही कठिन भयो। तर, फिल्मको विषयवस्तु र मेरो पात्रलाई लिएर म निकै उत्साहित छु।”

 

सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको यस फिल्ममा विजय र अञ्जनाका अलावा विनोद न्यौपाने, रामप्रसाद खनाल, कमलमणि नेपाल, लोकेन्द्र लेखक, भोलाराज सापकोटा, पूर्व मिस नेपाल उषा खड्गी, हिउँवाला गौतम, राकेश खड्का र रजनी गुरुङलगायत कलाकारहरूको अभिनय रहनेछ।

 

सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्मको कथा निर्देशक सरोज पौडेल स्वयंले तयार गरेका हुन्।

 

फिल्मका कार्यकारी निर्माता दिनेश खड्का हुन् भने आकाश, सुमन रञ्जित र श्याम मगर सहनिर्मातामा छन्। पदमबहादुर श्रेष्ठ (बाबु) डीओपी रहेको फिल्ममा नहकुल खड्काको सम्पादन तथा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत रहनेछ।

 

रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी वितरण गर्ने ‘सिन्दुरे जात्रा’ आगामी मंसिर ४ गते प्रदर्शनमा आउनेछ।

 
 
 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech