फिल्मी फण्डा। साउन १ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘गौँथली’को प्रिमियर सोमबार काठमाडौंको सुन्धारास्थित क्यूएफएक्स सिभिल मलमा सम्पन्न भएको छ। प्रिमियरमा सात सयभन्दा बढी दर्शक तथा फिल्मकर्मी सहभागी थिए।
प्रदर्शनपछि दर्शक र फिल्मकर्मीले फिल्मको कथा, अभिनय, छायांकन तथा प्राविधिक पक्षबारे सकारात्मक प्रतिक्रिया दिएका छन्। केही दर्शक प्रदर्शनका क्रममा भावुक बनेका थिए।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले फिल्मलाई सबै पक्षबाट सन्तुलित रहेको प्रतिक्रिया दिँदै अरुण क्षेत्री र सिम्रन खड्काको अभिनय उल्लेखनीय रहेको बताए।
कलाकार प्रकाश घिमिरेले पनि फिल्मको कथाले आफूलाई भावुक बनाएको बताए। कथाले आफ्नै पारिवारिक परिवेशको सम्झना गराएको उनको भनाइ थियो।
डा. कपिल रिजाल निर्देशित ‘गौँथली’ले बालविवाह, त्यसका सामाजिक तथा पारिवारिक असर र दाम्पत्य सम्बन्धका विषयलाई केन्द्रमा राखेको छ।
फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय छ।
‘गौँथली’ साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।