फिल्मी फण्डा । साउन १ गते प्रदर्शनमा आउने फिल्म ‘गौँथली’को ट्रेलर युट्युबको चलचित्रतर्फको ट्रेन्डिङ सूचीमा दोस्रो स्थानमा पुगेको छ। चार दिनअघि सार्वजनिक गरिएको ट्रेलरमा आएका प्रतिक्रियामध्ये धेरैले कथा, कलाकारको अभिनय र भावनात्मक प्रस्तुतिको प्रशंसा गरेका छन्।
युट्युबमा ट्रेलर हेरेपछि केही दर्शकले फिल्मको सफलताको कामना गरेका छन्। एकेन्द्र ठकुरीले ‘पूर्णबहादुरको सारङ्गी’को रेकर्ड तोड्ने अपेक्षा व्यक्त गरेका छन् भने अर्का एक दर्शकले ‘यस्तो पो नेपाली फिल्म हुनुपर्छ’ भन्दै प्रतिक्रिया जनाएका छन्। अञ्जु थापाले ‘ट्रेलरले नै रुवायो, पूरा फिल्मले के गर्ला?’ लेखेकी छन्। छवि ओलीले पनि ट्रेलरको भावनात्मक पक्षले आफूलाई छोएको प्रतिक्रिया दिएका छन्।
ट्रेलरमा अटिजम भएका युवकको भूमिकामा देखिएका अरुण क्षेत्री र उनकी श्रीमतीको भूमिकामा रहेकी सिम्रन खड्काको अभिनय केन्द्रमा छ। कथाले अटिजम भएका युवक, नवविवाहित दम्पतीको सम्बन्ध, सामाजिक मान्यता र शिक्षाप्रतिको संघर्षलाई प्रस्तुत गरेको देखिन्छ।
डा. कपिल रिजाल निर्देशित फिल्ममा अरुण र सिम्रनसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपाली देखिएका छन्।
डा. भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले तयार पारेका हुन्।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मका कार्यकारी निर्माता सरला रिजाल हुन्। सुमन गिरी र डा. कपिल रिजाल निर्माता तथा इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माता छन्।
फिल्ममा शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत, एलिस कार्कीको पाश्र्व संगीत, हरि हुमागाईंको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ। रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले फिल्म वितरण गर्नेछन् भने ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको छ।
यसअघि डा. भोला रिजालले यही नाममा निर्माण गरेको ‘गौँथली’लाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ। यसपटक सोही शीर्षकमा उनका छोरा डा. कपिल रिजालले नयाँ ‘गौँथली’ निर्देशन गरेका हुन्।