प्रदर्शनअघि नै ‘अक्षरा’को दक्षिण कोरिया वितरण अधिकार बिक्री

फिल्मी फण्डा। प्रदर्शनअघि नै नेपाली फिल्म ‘अक्षरा’ ले दक्षिण कोरियाको वितरण अधिकार बिक्री गर्न सफल भएको छ। आगामी भदौ २६ गतेदेखि नेपालभर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको कोरियाली प्रदर्शन अधिकार ‘केटीएम २ सोल’ कम्पनीले खरिद गरेको निर्माण पक्षले जनाएको छ।

यो सम्झौतासँगै दक्षिण कोरियामा रहेका नेपाली दर्शकले पनि फिल्म हलमै हेर्न पाउने भएका छन्। यद्यपि, वितरण अधिकार कति रकममा बिक्री गरिएको हो भन्ने विषयमा निर्माण टिमले खुलाएको छैन।

प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा वितरण अधिकार बिक्री हुनुलाई नेपाली फिल्म उद्योगका लागि सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्ममा सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ता रहेकी छन् भने निर्देशन विनय राज पौडेलले गरेका हुन्।

फिल्ममा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको अभिनय रहेको छ। बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना देखिएका छन्। अभिनेत्री न्यान्सी खड्का यसअघि चर्चित फिल्म ‘१२ गाउँ’ मा अभिनय गरिसकेकी छन्।

फिल्मका निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना हुन् भने कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन्। फिल्मको कथा उग्रसेन ढुङ्गानाले लेखेका हुन्। पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलको संयुक्त लेखनमा तयार भएको हो।

दिपेन बस्न्यातको छायाङ्कन, रामजी लामिछानेको कोरियोग्राफी र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्मलाई नेशनल सिने ग्रुप नेपालमार्फत दीपक दंगालले वितरण गर्नेछन्।

फिल्म भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech