फिल्मी फण्डा । युवाको मनभित्र उर्लिने द्वन्द्व, प्रेममा भोगिने पीडा र जीवनका अनकहा किचकिचलाई ठूलो पर्दामा उतार्ने तयारीमा रहेको फिल्म ‘ल्याङ्ग ल्याङ्ग’ले आफ्नो मुख्य कलाकार सार्वजनिक गरेको छ। निर्देशक बलिराम चौहानले निर्माण गर्न लागेको यस फिल्ममा अभिनेता तथा गायक रियान गिरी मुख्य भूमिकामा अनुबन्ध भएका छन्।
राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको अवसर पारेर निर्माण टिमले सोमबार रियानको औपचारिक इन्ट्री घोषणा गरेको हो। फिल्म ‘होस्टेल–३’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका रियानले अभिनयसँगै गायनमा पनि आफ्नो छुट्टै पहिचान बनाएका छन्। अब भने उनी नयाँ कथावस्तु बोकेको ‘ल्याङ्ग ल्याङ्ग’मार्फत फरक चरित्रमा दर्शकमाझ प्रस्तुत हुनेछन्।
निर्देशक बलिराम चौहानका अनुसार रियानलाई केवल लोकप्रियताका आधारमा होइन, कथाले मागेको पात्रमा उनी स्वाभाविक देखिने भएकाले छनोट गरिएको हो। उनले भने, “हाम्रो कथाले खोजेको पात्र र रियानको व्यक्तित्वबीच राम्रो मेल देख्यौँ। त्यसैले उनलाई मुख्य भूमिकाका लागि अनुबन्ध गरेका हौँ।”
गत वर्ष समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाएको फिल्म ‘द ब्ल्यू लाइट’ निर्देशन गरेका चौहान अहिले ‘ल्याङ्ग ल्याङ्ग’को कलाकार तथा प्राविधिक टोलीलाई अन्तिम रूप दिने चरणमा छन्। उनका अनुसार अन्य कलाकारसँग पनि छलफल भइरहेको छ र क्रमशः उनीहरूको नाम सार्वजनिक गरिनेछ।
स्काइफल पिक्चर्सको प्रस्तुतिमा निर्माण हुने फिल्मको स्लोगन ‘हरेक युवाको कथा’ राखिएको छ। शीर्षक स्वयं युवा पुस्ताको बोलचालबाट आएको शब्द हो। ‘ल्याङ्ग ल्याङ्ग’ अर्थात् एउटै विषयमा बारम्बार हुने किचकिच, मानसिक दबाब र सम्बन्धभित्रको दोहोरिने तनावलाई जनाउने शब्द हो, जसलाई फिल्मले जीवन र सम्बन्धको गहिराइसँग जोडेर प्रस्तुत गर्ने तयारी गरेको छ।
यसअघि सार्वजनिक गरिएको थिम पोस्टरमा ‘पालना गर्ने वाचा र बाँच्ने उद्देश्य : यो जीवनको लागि यति मात्र हो’ भन्ने भावपूर्ण वाक्य समेटिएको थियो। पोस्टरले अचानक प्रेममा धोका खाएको एक युवाको भावनात्मक यात्रालाई संकेत गर्दै फिल्मको संवेदनशील कथावस्तुप्रति दर्शकको उत्सुकता बढाएको थियो। फिल्मको कथा बलिराम चौहान र उपश्री खतिवडाले संयुक्त रूपमा लेखेका हुन्।
उल्लेखनीय रूपमा, बलिराम चौहानको डेब्यु निर्देशन ‘द ब्ल्यू लाइट’ले समीक्षकबाट प्रशंसा बटुले पनि प्रदर्शनकै क्रममा निर्वाचनको माहोलका कारण तेस्रो दिनमै हलबाट हटाइएको थियो। यसपटक भने उनी नयाँ जोश, नयाँ कथा र युवा पुस्ताको मनोविज्ञानलाई केन्द्रमा राख्दै ‘ल्याङ्ग ल्याङ्ग’ मार्फत पुनः दर्शकमाझ आउने तयारीमा छन्।