फिल्मी फण्डा । प्रदर्शनको तयारीमा रहेको नेपाली सिनेमा ‘लज्जावती’ले नयाँ शैलीमा प्रचार अभियान अघि बढाएको छ। आगामी साउन २९ गतेदेखि प्रदर्शनमा आउने सिनेमाले एकैपटक पाँच क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै आफ्ना मुख्य पात्र र कथाको भावभूमिको झलक दर्शकमाझ ल्याएको हो।
सार्वजनिक पोस्टरहरूले सिनेमाको कथा केवल प्रेममा सीमित नभई परिवार, सामाजिक सम्बन्ध, संघर्ष र गाउँको जीवनशैलीसँग जोडिएको संकेत गरेका छन्। प्रत्येक पोस्टरले फरक पात्रको स्वभाव र कथामा उनीहरूको भूमिकाप्रति उत्सुकता जगाउने प्रयास गरेको देखिन्छ।
एक पोस्टरमा अभिनेता मुकुन भुसाल र अभिनेत्री जानुका विश्वकर्माको रोमान्टिक केमेस्ट्री प्रस्तुत गरिएको छ। उनीहरूको भावभंगिमाले सिनेमाको केन्द्रमा संवेदनशील प्रेमकथा रहेको संकेत गर्छ। अर्को पोस्टरमा मुकुन भुसालको काँधमा श्रीकृष्ण निरौला देखिएका छन् भने जानुका विश्वकर्मा र मेनुका माझी पनि सँगै छन्। यसले सिनेमामा पारिवारिक आत्मीयता, मित्रता र मनोरञ्जनको स्वाद पनि रहने अनुमान गर्न सकिन्छ।
अर्को पोस्टरमा भने मुकुन, श्रीकृष्ण र मेनुका गम्भीर मुद्रामा प्रस्तुत छन्। ग्रामीण र सहरी परिवेश मिसिएको पृष्ठभूमिले कथाले समाजका विभिन्न तह र जीवनशैलीलाई समेट्ने संकेत गरेको छ।
निर्माण टिमका अनुसार ‘लज्जावती’ प्रेमकथासँगै समाजमा रहेका सम्बन्ध, भावना र मानवीय संवेदनालाई केन्द्रमा राखेर निर्माण गरिएको सिनेमा हो।
आहा फिल्म्स प्रालिको प्रस्तुतिमा बनेको यस सिनेमाका लेखक तथा निर्देशक राजबहादुर साने हुन्। सिनेमामा मुकुन भुसाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी, धिरेन शाक्य, हिउँवाला गौतम, दीपक थापा र विनोद श्रेष्ठलगायत कलाकारहरूको अभिनय रहेको छ।
सौरभ वली प्रस्तुतकर्ता रहेको सिनेमाका निर्माता कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया हुन् भने दिनेश बुढाथोकी कार्यकारी निर्माता छन्। दिव्यराज सुवेदीको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको सिनेमालाई कुबेर सिने डिस्ट्रिब्युसनले देशव्यापी रूपमा वितरण गर्नेछ।