एकातिर प्रेम, अर्कोतिर मृत्युको खेल, ‘हन्टर’ असोज ९ मा प्रदर्शनमा

फिल्मी फण्डा । प्रतिशोध, प्रेम र जीवन–मरणको संघर्षलाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली चलचित्र ‘हन्टर’ आगामी असोज ९ गते (सेप्टेम्बर २५) देखि देशभरका सिनेमाघरमा प्रदर्शन हुने भएको छ। निर्माण पक्षले प्रभावशाली ‘फेस अफ’ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।

सार्वजनिक पोस्टरले चलचित्रको कथावस्तुप्रति दर्शकको उत्सुकता बढाएको छ। पोस्टरमा अभिनेता अरुण क्षेत्री र प्रकाश शाह आमनेसामने उभिएका छन्। प्रकाशको आँखामा झल्किएको आक्रोश र अरुणको अनुहारमा देखिएको प्रतिशोधको भावले उनीहरूबीचको संघर्ष सामान्य नभई एकले अर्कोलाई समाप्त गर्ने तहसम्म पुग्ने संकेत गर्छ।

यता पोस्टरको तल्लो भागमा भने अर्कै दृश्य देखिन्छ। अभिनेता अरुण क्षेत्री र अभिनेत्री सुप्रज्ञा शर्मा रोमान्टिक मुद्रामा प्रस्तुत छन्। यसले चलचित्रमा केवल एक्सन र द्वन्द्व मात्र नभई गहिरो प्रेमकथाले पनि महत्वपूर्ण स्थान ओगटेको स्पष्ट पार्छ। प्रेम, प्रतिशोध र संघर्षको यही त्रिकोणले चलचित्रलाई थप रोचक बनाउने अपेक्षा गरिएको छ।

चलचित्रका लेखक तथा निर्देशक जीवन सिंहका अनुसार ‘हन्टर’ कुनै काल्पनिक कथा होइन। समाजमा घटिरहेका वास्तविक घटना र पात्रहरूबाट प्रेरित भएर यसको कथा तयार गरिएको हो। यस चलचित्रमार्फत सिंहले निर्देशनमा डेब्यु गर्दैछन्।

ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा निर्माण भएको चलचित्रका निर्माता ममता सिंह, गोविन्द राज र राज ए. भट्ट हुन्। सह–निर्मातामा मनिष चन्द, युना शाही र सन्तोष आस्ना पाल रहेका छन् भने रोयल भीमसेन (भीमसेन शाही) कार्यकारी निर्माता हुन्।

चलचित्रमा अरुण क्षेत्री, प्रकाश शाह र सुप्रज्ञा शर्मासँगै गरिमा शर्मा, सरोज खनाल, रमेश बुढाथोकी, रुजा राउत, रोशनी दाहाल, गीता अधिकारी, सुरज भण्डारी, टेकराज शर्मा र लालबहादुर थापा लगायत कलाकारहरूको अभिनय रहेको छ।

निर्देशक जीवन सिंहकै सम्पादन रहेको चलचित्रमा कृष्ण थापाको छायांकन, शुक्रराज शाहको द्वन्द्व निर्देशन, विक्रम स्वाँर र सञ्जय खिमजिमको कोरियोग्राफी तथा बाबुल गिरी, चक्र बम र महेश ताम्राकारको संगीत रहेको छ।

दसैंको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको ‘हन्टर’ले एक्सन, इमोसन र ड्रामाको सशक्त मिश्रणमार्फत विशेषगरी ‘मास अडियन्स’लाई आकर्षित गर्ने निर्माण पक्षको विश्वास छ। चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी रूपमा वितरण गर्नेछ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech