शिक्षा, संघर्ष र महिला सशक्तीकरणको कथा बोकेको ‘गौथली’

फिल्मी फण्डा । निर्देशक डा. कपिल रिजालको निर्देशनमा निर्माण भएको नेपाली सिनेमा ‘गौथली’ सामाजिक यथार्थमा आधारित कथावस्तु लिएर दर्शकमाझ आउने तयारीमा छ। बालविवाह, महिला अधिकार, शिक्षा र पारिवारिक संघर्षलाई केन्द्रमा राखिएको यो सिनेमाले समाजलाई सकारात्मक सन्देश दिने प्रयास गरेको निर्माण पक्षको भनाइ छ।

यद्यपि ‘गौथली’ नाममा यसअघि पनि सिनेमा निर्माण भइसकेको थियो, जसको निर्देशन डा. भोला रिजालले गरेका थिए। उक्त चलचित्रले प्रदर्शनको ५१औँ दिनसमेत मनाएको थियो। अहिले प्रदर्शनको तयारीमा रहेको नयाँ ‘गौथली’ भने पुरानो कथाको मूल भावलाई आधार बनाएर नयाँ शैली र नयाँ प्रस्तुतिमा निर्माण गरिएको हो। डा. भोला रिजालको कथालाई उनका छोरा डा. कपिल रिजालले समकालीन ढंगले पर्दामा उतारेका हुन्।

सिनेमाका प्रचार सामग्री क्रमशः सार्वजनिक भइरहेका छन्। केही समयअघि सार्वजनिक गरिएको गीत र टिजरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको निर्माण पक्षले जनाएको छ।

चलचित्रमा अभिनेत्री सिम्रन खड्काले सानै उमेरमा विवाह गर्न बाध्य भएकी युवतीको भूमिका निर्वाह गरेकी छन्। अध्ययन गर्ने सपना बोकेकी उनको पात्रले अनेक कठिनाइसँग जुध्दै शिक्षाको माध्यमबाट आफ्नो जीवन परिवर्तन गर्ने संघर्ष प्रस्तुत गर्छ। अभिनेता अरुण क्षेत्रीले असामान्य व्यवहार भएको श्रीमानको भूमिका निभाएका छन्, जसले कथालाई थप भावनात्मक बनाएको देखिन्छ।

यस चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा र ईश्वरी बराललगायत कलाकारको अभिनय रहेको छ। डा. भोला रिजालको कथामा आधारित यस सिनेमाको पटकथा तथा निर्देशन डा. कपिल रिजालले गरेका हुन् भने निर्माण सुमन गिरीले गरेका छन्।

निर्माण पक्षका अनुसार ‘गौथली’ केवल पारिवारिक कथा मात्र नभई शिक्षा, समानता र महिला सशक्तीकरणको सन्देश बोकेको चलचित्र हो। यसले परम्परागत सामाजिक सोचमाथि प्रश्न उठाउँदै शिक्षाले व्यक्तिको जीवनमा ल्याउन सक्ने परिवर्तनलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ।

सामाजिक तथा पारिवारिक ड्रामाका रूपमा निर्माण भएको ‘गौथली’ आगामी साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech