फिल्मी फण्डा । आगामी भदौ १९ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘बाः एक योद्धा’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। आइतबार सार्वजनिक पोस्टरले फिल्मको मुख्य पात्र ‘बा’ को परिचय मात्र होइन, कथावस्तुको महत्वपूर्ण संकेतसमेत दिएको छ।
सार्वजनिक पोस्टरमा अभिनेता दिब्य देव ‘बा’को भूमिकामा देखिएका छन्। चस्मा लगाएर गम्भीर र तनावपूर्ण मुद्रामा प्रस्तुत उनको लुक्सले सन्तानको भविष्यका लागि संघर्षरत एक जिम्मेवार बुवाको चरित्र झल्काउँछ। पोस्टरले चलचित्रको शीर्षकअनुसार ‘बा’लाई एक वास्तविक योद्धाका रूपमा चित्रित गरेको छ।
उनको साथमा अभिनेत्री सुहाना थापा देखिएकी छन्, जो फिल्ममा छोरीको भूमिकामा रहेको पोस्टरले स्पष्ट पारेको छ। सामान्य पहिरन, काँधमा झोला र अनुहारमा देखिएको चिन्ताले परिवारको आर्थिक तथा सामाजिक संघर्षलाई संकेत गर्छ।
पोस्टरभित्र समेटिएका विभिन्न दृश्य र प्रतीकहरूले फिल्मको कथावस्तुबारे धेरै कुरा उजागर गरेका छन्। घरको भित्तामा टाँसिएको सानो पारिवारिक तस्वीर, फलैँचामा बसेका बाबुआमा, आकाशमा उडिरहेको हवाइजहाज, मोटरसाइकल तथा जग्गाधनी पूर्जाको झलकले मध्यमवर्गीय नेपाली परिवारको यथार्थ कथा भन्ने संकेत गर्छ।
विशेषगरी लालपूर्जा र सरकारी छापको प्रयोगले सन्तानको उज्ज्वल भविष्यका लागि घरजग्गासमेत धितो राख्न बाध्य हुने नेपाली बुवाको पीडा र संघर्षलाई प्रतिनिधित्व गरेको अनुमान गर्न सकिन्छ। पोस्टरले वैदेशिक रोजगारी, शिक्षा, पारिवारिक जिम्मेवारी र त्यागका भावनात्मक पाटालाई समेत समेट्ने प्रयास गरेको देखिन्छ।
सार्वजनिक पोस्टरले अर्को महत्वपूर्ण तथ्य पनि उजागर गरेको छ। अभिनेत्री झरना थापा फिल्ममा दिब्य देवको अपोजिट भूमिकामा छिन् भने झरना र सुहाना आमा–छोरीको भूमिकामा देखिने संकेत पोस्टरबाट प्राप्त हुन्छ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्मले नेपाली समाजमा सन्तानका लागि बुवाले जीवनभर गर्ने त्याग, संघर्ष र जिम्मेवारीको कथा प्रस्तुत गर्नेछ। कुसे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको फिल्मले पारिवारिक सम्बन्ध र भावनालाई केन्द्रमा राखेको छ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा दिब्य देव, झरना थापा, सुहाना थापा, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापा तथा अनिल बुढाथोकीको अभिनय रहेको छ। फिल्मका निर्माता वसन्त लम्साल हुन् भने छायांकन शिवराम श्रेष्ठले गरेका छन्। फिल्मलाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।