फिल्मी फण्डा । चर्चित लोकगायक पशुपति शर्माले अब अभिनय यात्राको सुरुआत गर्ने भएका छन्। रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ मार्फत उनले पहिलोपटक ठूलो पर्दामा अभिनय गर्न लागेका हुन्।
लेखक तथा निर्देशक अमरदीप सापकोटाको लेखन तथा निर्देशन रहने फिल्मको औपचारिक घोषणा सूर्यविनायक गणेश मन्दिरमा स्क्रिप्ट पूजा गर्दै गरिएको छ। निर्माण टिमका अनुसार फिल्म आगामी असारको अन्तिम सातादेखि छायांकनमा जानेछ।
फिल्ममार्फत चर्चित गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्तले पनि अभिनय क्षेत्रमा डेब्यु गर्दैछिन्। यससँगै अन्य केही नयाँ अनुहारलाई समेत फिल्ममा अवसर दिइने निर्माण पक्षले जनाएको छ। यद्यपि, उनीहरूको नाम भने उपयुक्त समयमा सार्वजनिक गरिने बताइएको छ।
कमेडी जनरामा निर्माण हुन लागेको फिल्म दर्शकलाई भरपुर मनोरञ्जन दिने उद्देश्यसहित तयार पारिएको निर्देशक सापकोटाले जानकारी दिए। हाल चलचित्रको प्रि–प्रोडक्सन कार्य तीव्र गतिमा अघि बढिरहेको छ।
निर्माता रघुनाथ सापकोटाका अनुसार रघुजी फिल्म्सले यसअघि घोषणा गरेका केही परियोजना प्राविधिक कारणले पछि सरे पनि अहिले ‘तीन तीघ्रे क्या बिग्रे’लाई प्राथमिकतामा राखेर निर्माण प्रक्रिया अघि बढाइएको हो। उनले यसअघि घोषणा भएका अन्य चलचित्र पनि क्रमशः निर्माणमा जाने बताए।
फिल्मको नेपाल वितरण अधिकार आरआर फिल्म्सले प्राप्त गरेको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ। विदेश वितरणका लागि विभिन्न वितरकबाट चासो देखिए पनि निर्माण सम्पन्न भएपछि मात्र अन्तिम निर्णय गरिने निर्माण टिमले जनाएको छ।