फिल्मी फण्डा । काठमाडौं महानगरपालिकाले चलचित्र संस्कृतिलाई समुदायस्तरसम्म पुर्याउने उद्देश्यसहित ‘टोल टोलमा फिल्म महोत्सव’को औपचारिक शुभारम्भ गरेको छ। शुक्रबार खुलामञ्चमा आयोजित विशेष समारोहबीच महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले महोत्सवको उद्घाटन गरेकी हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै डंगोलले चलचित्र केवल मनोरञ्जनको माध्यम मात्र नभई समाज, संस्कृति र पहिचानलाई जोड्ने सशक्त माध्यम भएको बताइन्। उनले महानगरले कला, संस्कृति र सिर्जनशील क्षेत्रलाई समुदायसँग जोड्दै लैजान विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै ‘टोल टोलमा फिल्म महोत्सव’ त्यसैको एक महत्वपूर्ण कडी भएको बताइन्।
महोत्सवको पहिलो दिन अमन शाही निर्देशित ‘नन्द’, ताराङ निर्देशित ‘सवारी साहित्य’ र इशान भुषाल निर्देशित ‘पेन्गुइन रिभोलुसन’ प्रदर्शन गरिएको थियो। दर्शकहरूको उल्लेख्य उपस्थितिले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो।
महानगरपालिकाका अनुसार महोत्सव असार महिनाभर हरेक शुक्रबार र शनिबार काठमाडौंका विभिन्न सार्वजनिक स्थल, पार्क, डबली तथा चोकहरूमा सञ्चालन हुनेछ। चलचित्र विकास बोर्ड, ब्रिटिस काउन्सिल नेपाल, युनेस्को, किम्फ र नेपाल फिल्म एकेडेमीसँगको सहकार्यमा छनोट गरिएका लघु चलचित्रहरू प्रदर्शन गरिनेछन्।
महोत्सव व्यवस्थापनका लागि स्थानीय संघसंस्थालाई समेत सहभागी गराइएको छ। पहिलो दिनको कार्यक्रम ‘इकोज इन द भ्याली’ले व्यवस्थापन गरेको थियो भने शनिबार असन क्षेत्रमा नीलः सांस्कृतिक क्लबले कार्यक्रम सञ्चालन गर्नेछ। आगामी दिनहरूमा बालाजु, बागबजार, यट्खा बहाल, लगनटोल र मैतीदेवीलगायत क्षेत्रमा पनि महोत्सव आयोजना गरिनेछ।
महानगरले चलचित्रलाई हलभित्र सीमित नराखी समुदायको पहुँचमा पुर्याउने लक्ष्यसहित सुरु गरेको यो महोत्सवले काठमाडौंको सांस्कृतिक जीवनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।