फिल्मी फण्डा । अभिनेता पल शाह र निर्देशक चन्द्र पन्तले पुनः एकपटक नयाँ फिल्ममा सहकार्य गर्ने भएका छन्। शुक्रबार फिल्म ‘आ बाट आमा २’ को पहिलो चरणको छायांकन सम्पन्न भएलगत्तै पन्तले आफ्नो आगामी अनटाइटल्ड फिल्मका लागि शाहलाई अनुबन्ध गरेका हुन्।
‘आ बाट आमा’बाट सुरु भएको शाह–पन्त सहकार्य अब तेस्रो फिल्मसम्म पुगेको छ। पहिलो सहकार्यबाट उल्लेखनीय सफलता हासिल गरेको यो जोडीले नयाँ परियोजनामार्फत पुनः दर्शकमाझ आउने तयारी गरेको हो।
निर्देशक पन्तका अनुसार हाल फिल्मका लागि पल शाहलाई मात्र अनुबन्ध गरिएको छ भने अन्य कलाकार तथा प्राविधिकको टुंगो लाग्ने क्रम जारी छ। “यो हाम्रो तेस्रो सहकार्य हो। बाँकी कलाकार र प्राविधिकको नाम क्रमशः सार्वजनिक गर्दै जानेछौँ,” उनले बताए।
फिल्मको शीर्षक, कथावस्तु तथा अन्य विवरण भने अझै गोप्य राखिएको छ। सम्पूर्ण कलाकार तथा प्राविधिक टोली अन्तिम भएपछि मात्रै छायांकनको औपचारिक घोषणा गरिने निर्देशक पन्तले जानकारी दिए।
गत वर्ष प्रदर्शनमा आएको ‘आ बाट आमा’ले घरेलु बक्स अफिसमा १३ करोड रुपैयाँभन्दा बढी व्यापार गर्दै व्यावसायिक सफलता हासिल गरेको थियो। यही सफल सहकार्यलाई निरन्तरता दिँदै पल शाह र चन्द्र पन्त पुनः नयाँ फिल्ममार्फत दर्शकमाझ आउने तयारीमा छन्।