फिल्मी फण्डा । चलचित्र ‘क्याप्टेन साब’को छायांकन सम्पन्न भएको छ। दुई चरणमा गरिएको छायांकन बुधबार इन्डक्ल्यापसँगै सकिएको निर्माण पक्षले जनाएको छ।
चलचित्रको पहिलो चरणको छायांकन गत वर्ष साउन १० गतेबाट सुरु गरिएको थियो भने दोस्रो चरणको छायांकन दुई साताअघि सम्पन्न गरिएको थियो। चलचित्रका दृश्यहरू काभ्रे, काठमाडौं र वीरगञ्जका विभिन्न स्थानमा खिचिएका छन्।
निर्देशक दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्रलाई कृष्णबहादुर थापाले छायांकन गरेका छन्। ‘क्याप्टेन साब’ सञ्चार उद्यमी, व्यवसायी तथा पाइलट क्याप्टेन रामेश्वर थापाको जीवनमा आधारित बायोपिक हो।
पटकथा प्रोडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्रमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सन्जोग रसाइली मुख्य भूमिकामा रहेका छन्। निर्देशक दीपेन्द्रले यसअघि ‘धनपति’मा खगेन्द्र र सुरक्षासँग सहकार्य गरेका थिए। त्यसयता यी तीन कलाकारको एउटै चलचित्रमा यो दोस्रो सहकार्य हो।
चलचित्रका निर्माता दीपेन्द्र के खनाल र करण श्रेष्ठ हुन् भने सिर्जना नापित कार्यकारी निर्माताका रूपमा रहेकी छन्। चलचित्रको कथा तथा पटकथा पनि निर्देशक खनाल स्वयंले लेखेका हुन्।
प्राविधिक टोलीमा सौगात बस्नेत मुख्य सहायक निर्देशक, सम्राट बस्नेत द्वन्द्व निर्देशक, एकी थेक्पा प्रोडक्सन डिजाइनर, रोहितराज गौतम एचओडी तथा विष्णु बुढाथोकी प्रोडक्सन म्यानेजरका रूपमा रहेका छन्।
छायांकन सम्पन्न भएसँगै चलचित्र अब पोस्ट–प्रोडक्सन चरणमा प्रवेश गरेको निर्माण टिमले जनाएको छ। ‘क्याप्टेन साब’ले क्याप्टेन रामेश्वर थापाको जीवनयात्रा, संघर्ष र सफलतालाई पर्दामा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।