प्रदर्शनअघि नै ‘पेन्सन पट्टा’को विदेशी बजारमा बढ्दो माग, अष्ट्रेलिया–न्युजिल्यान्ड अधिकार पनि बिक्री

फिल्मी फण्डा । निर्देशक तथा कथाकार माओत्से गुरुङ को नयाँ नेपाली चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा आकर्षणको केन्द्र बनेको छ । नेपाली चलचित्रको विदेशी बजार विस्तार भइरहेका बेला ‘पेन्सन पट्टा’ले पनि लगातार अन्तर्राष्ट्रिय माग प्राप्त गर्दै आफ्नो बजार प्रवद्र्धनलाई तीव्र बनाएको हो । 

निर्माण पक्षका अनुसार चलचित्रको प्रदर्शन मिति सार्वजनिक हुनुअघि नै बेलायत र हङकङका प्रदर्शन अधिकार बिक्री भइसकेका छन् । बेलायतको लागि सपन इन्टरटेन्टमेन्ट लिमिटेड र हङकङमा मेन ड्रागन लिमिटेडले रिलिज अधिकार खरिद गरेको हो । त्यसको निरन्तरतास्वरूप अहिले चलचित्रको अष्ट्रेलिया र न्युजिल्यान्ड प्रदर्शन अधिकारसमेत बिक्री भएको छ । दि ब्याक ईभेन्ट्सले अष्ट्रेलिया र न्युजिल्याण्डको लागि प्रदर्शन अधिकार खरिद गरेको हो । यससँगै ‘पेन्सन पट्टा’ले प्रदर्शनअघि नै विभिन्न अन्तर्राष्ट्रिय बजारमा सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको निर्माण टिमले जनाएको छ ।

माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रले नेपाली समाज, परिवार, सम्बन्ध र मानवीय संवेदनालाई केन्द्रमा राखेको छ । यसअघि माओत्से गुरुङले निर्माण गरेका ‘पुरानो डुङ्गा’ र ‘दयारानी’ले स्वदेशसँगै विदेशमा पनि राम्रो चर्चा बटुलेका थिए। त्यसैले ‘पेन्सन पट्टा’प्रति विदेशी वितरक तथा नेपाली डायस्पोराको चासो उल्लेखनीय रूपमा बढेको निर्माण पक्षको विश्वास छ ।

पेन्सन पट्टाले मानीसको जीवनमा कस्तो किसिमको आशा जगाउँछ र त्यसको लागि के कस्तो संघर्ष गर्नुपर्छ भन्ने विषयलाई मानवीयताको दृष्टिकोणबाट डो¥याउने कथावस्तु चलचित्रले प्रस्तुत गर्नेछ ।

चलचित्रमा दयाहाङ राई, सुनिल थापा, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, पुष्कर गुरुङ, सोल गुरुङ, सूरज तमु, राज थापा काउँचा, मनोज गुरुङ, अनुशा राई, लुनिभा तुलाधर लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्रका निर्देशक तथा लेखक माओत्से गुरुङ हुन् भने छायांकन सुशन प्रजापति, सम्पादन केर डी. कोइच लिनुच, कलरिस्ट राजेन्द्र मोक्तान, साउण्ड डिजाइन उत्तम न्यौपाने, सिंक साउण्ड नवीन श्रेष्ठ, भिएफएक्स मनोज श्रेष्ठ र कला निर्देशन राजु याक्चाले गरेका छन् । डि.बी. गुरुङ प्रोडक्सन म्यानेजर रहेका चलचित्रमा हर्क साउद, शिव बराइली र सूरज तमुका गीत तथा मनोज थापा मगर, शिव बराइली र सूरज तमुको संगीत रहेको छ ।

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तार भइरहेका बेला ‘पेन्सन पट्टा’ले प्रदर्शनअघि नै विभिन्न देशका वितरकहरूको ध्यान आकर्षित गर्न सफल भएको छ । बेलायत, हङकङ, अष्ट्रेलिया र न्युजिल्यान्डपछि अन्य मुलुकबाट समेत प्रदर्शन अधिकारबारे छलफल भइरहेको जनाइएको छ । निर्माण पक्षका अनुसार चलचित्रप्रति विदेशी बजारमा देखिएको उत्साहले आगामी दिनमा थप अन्तर्राष्ट्रिय बजार खुल्ने अपेक्षा गरिएको छ ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech