फिल्मी फण्डा । निर्देशक हिमाल उप्रेतीको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘भागदौड’ आगामी असार २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले मंगलबार दुई फरक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो।
सार्वजनिक पोस्टरमा फिल्मका प्रमुख कलाकारहरू अनिशा श्रेष्ठ, घनश्याम जोशी, शारदा राई (सारा), विशाल पोखरेल, शेखर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शंकर महर्जन र सुवास तिमिल्सिना लगायतलाई प्रस्तुत गरिएको छ।
फिल्मले लोभ, लालच, जालझेल र ठगीका कारण उत्पन्न हुने मानवीय तथा नैतिक संकटको कथा उठाएको निर्देशक उप्रेतीले बताएका छन्। काठमाडौंको ऐतिहासिक बस्ती बुङमती र बागमती नदी आसपासको परिवेशमा आधारित कथाले नेवारी कला–संस्कृति, परम्परा र आधुनिक जीवनशैलीबीचको सन्तुलनलाई पनि चित्रण गर्नेछ।
विश्वराम बिष्ट प्रस्तुतकर्ता रहेको फिल्म सुप्रिम म्यूजिक एण्ड फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको हो। फिल्ममा दीपक बज्राचार्यको छायांकन, प्रविन ढकालको सम्पादन तथा वसन्त सापकोटा र प्रकाश नेपालीको संगीत रहेको छ। फिल्मको वितरण नेशनल सिने ग्रुप नेपालले गर्नेछ।