कास्कीको पामे गाउँबाट सुरु भयो फिल्म ‘टिका’को छायांकन
फिल्मी फण्डा
२०८३ जेठ २६,मंगलवार ०१ : १४ PM
178
Shares
फिल्मी फण्डा। ‘जेरी अन टप’की निर्माता भविष्य खड्काको नयाँ फिल्म ‘टिका’ को छायांकन सुरु भएको छ । कास्कीको पामे गाउँबाट फिल्मको छायांकन थालिएको निर्माण टिमले जनाएको छ।
फिल्मका लागि ४० दिने छायांकन तालिका तय गरिएको छ । जसअनुसार कास्कीमा ३० दिन छायांकन गरिनेछ भने बाँकी दृश्य काठमाडौंलगायतका स्थानमा खिचिनेछन् ।
महिलाप्रधान कथामा आधारित फिल्ममा महेश त्रिपाठी, प्रियंका कार्की, वर्षा शिवाकोटी, निर्मल शर्मा, प्रकाश घिमिरे, रीना ढकाल, विविका पौडेल र आयुषी ढकाललगायत कलाकारको अभिनय रहनेछ ।
भविष्य फिल्म्स र थर्ड आई आर्ट्सको संयुक्त ब्यानरमा निर्माण हुने फिल्मका कार्यकारी निर्माता तेजविक्रम केसी हुन् ।
आगामी भदौ २६ गते प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको फिल्मलाई शंकर कार्कीले निर्देशन गरिरहेका छन् । फिल्मको कथा शंकर कार्की र चन्दन झाले तयार गरेका हुन् भने पटकथा सुपरभाइजरको जिम्मेवारी विश्वास तिम्सिना (बिटी कान्छा) ले सम्हालेका छन् ।
नरेन्द्र मैनालीको छायांकन रहेको फिल्ममा कालिप्रसाद बाँस्कोटा र केतन क्षेत्रीको संगीत रहनेछ ।