‘पेन्सन पट्टा’ले विदेशमा पनि बढायो उत्साह: बेलायत र हङकङ प्रदर्शन अधिकार बिक्री
फिल्मी फण्डा
२०८३ जेठ २४,आइतवार ०१ : ३३ PM
913
Shares
फिल्मी फण्डा । अभिनेता तथा निर्देशक माओत्से गुरुङको निर्देशनमा निर्माण भइरहेको सामाजिक कथामा आधारित फिल्म ‘पेन्सन पट्टा’ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा उत्साहजनक प्रतिक्रिया पाउन थालेको छ। समाजसँग गहिरो रूपमा जोडिएको मौलिक कथावस्तुमा आधारित यस फिल्मलाई माओत्से गुरुङको सशक्त निर्देशन, सरल तर प्रभावकारी प्रस्तुतीकरण र सामाजिक यथार्थलाई नजिकबाट प्रस्तुत गर्ने शैलीका कारण विशेष रूपमा रुचाइएको निर्माण पक्षले जनाएको छ।
आगामी भदौ २६ गते हरितालिका तीजको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्मको बेलायत र हङकङका लागि प्रदर्शन अधिकार बिक्री भइसकेको छ, जसले विदेशमा बस्ने नेपाली समुदायको चासो र मागलाई स्पष्ट देखाएको छ।
निर्माण टिमका अनुसार फिल्म रिलिज हुनुअघि नै विदेशी बजारमा देखिएको उत्साहले यसको अन्तर्राष्ट्रिय यात्रा थप मजबुत बनेको छ। विशेषगरी युके र हङकङमा रहेका नेपाली डायस्पोराले फिल्मप्रति देखाएको रुचिपछि त्यहाँका वितरण कम्पनीहरूले प्रदर्शन अधिकार खरिद गरेका हुन्। बेलायतको लागि सपन इन्टरटेन्टमेन्ट लिमिटेड र हङकङमा मेन ड्रागन लिमिटेडले रिलिज अधिकार खरिद गरेको छ । यसले नेपाली मौलिक कथामा आधारित फिल्महरू अन्तर्राष्ट्रिय बजारमा पनि विस्तार हुँदै गएको संकेत गरेको फिल्म क्षेत्रका जानकारहरू बताउँछन्।
‘पेन्सन पट्टा’ सामाजिक कथामा आधारित फिल्म हो जसले एक लोभी युवाको जीवनमा आउने परिवर्तन र उसको चरित्र उदारतर्फ रूपान्तरण हुने विषयलाई केन्द्रमा राखेको छ। फिल्मको नामले पूर्व गोर्खा सैनिकसँग सम्बन्धित कथाको झल्को दिए पनि यसले सामाजिक रूपान्तरण, मानवीय मूल्य र सम्बन्धहरूको गहिराइलाई मूल विषय बनाएको निर्माण पक्षले स्पष्ट पारेको छ। साथै, फिल्मको छायांकन कास्की जिल्लाको टाङ्टिङ गाउँ लगायतका सुन्दर प्राकृतिक लोकेसनमा गरिएको छ, जसले दृश्यात्मक रूपमा पनि फिल्मलाई आकर्षक बनाउने अपेक्षा गरिएको छ।
माओत्से गुरुङको निर्देशनमा बनेको यो दोस्रो फिल्म हो। यसअघि निर्देशन गरेको ‘दयारानी’ सफल भएपछि ‘पेन्सन पट्टा’लाई पनि उच्च अपेक्षासहित हेरिएको छ। निर्माण कम्पनी माओत्से गुरुङ फिल्म्सले फिल्मलाई अझ परिष्कृत र सामाजिक सन्देशयुक्त बनाउने उद्देश्यसहित काम गरिएको जनाएको छ।
फिल्ममा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुनिल थापा, पुस्कर गुरुङ, सोल गुरुङ, राज थापा काउछा, मनोज गुरुङ, अनुशा राई, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली लिम्बु, कुबिना गुरुङ, डिवी गुरुङ र प्रतिक्षा गुरुङ लगायतका कालाकारको अभिनय रहेको छ ।
मीन कोन्मे गुरुङ (युके), भोज बहादुर गुरुङ (युके), माया गुरुङ (हङकङ) र सपना गुरुङको लगानी रहेको फिल्मका प्रोडक्सन म्यानेजरमा डिबी गुरुङ हुन् । सुशन प्रजापतिले छायांकन गरेकोफिल्मका कास्टिङ डिरेक्टर सुरज तमु र संगीतकारमा मनोज थापा मगर, शिव बराइली, सुरुङ गुरुङ छन् ।
प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा अधिकार बिक्री हुनु ‘पेन्सन पट्टा’का लागि महत्वपूर्ण उपलब्धि मानिएको छ, जसले नेपाली फिल्म उद्योगको बढ्दो अन्तर्राष्ट्रिय पहुँच र डायस्पोरा बजारको सम्भावनालाई थप मजबुत बनाएको छ।