चलचित्र विकास शुल्क पोर्टल तालिम विराटनगरमा सम्पन्न

फिल्मी फण्डा । चलचित्र विकास शुल्कलाई थप पारदर्शी, व्यवस्थित र अभिलेखीकरणमुखी बनाउने उद्देश्यसहित चलचित्र विकास बोर्डले विराटनगरमा चलचित्र विकास शुल्क पोर्टलसम्बन्धी तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

शनिबार आयोजित कार्यक्रममा कोशी र मधेस प्रदेशअन्तर्गतका मोरङ, सुनसरी, झापा, सिराहा, सप्तरी, उदयपुर, पाँचथर र धनकुटाका करिब ३६ चलचित्रघरका प्रतिनिधिहरू सहभागी भएका थिए।

कार्यक्रममा चलचित्र विकास शुल्कसम्बन्धी ऐन–कानुन, शुल्क कार्यान्वयन, नियमन प्रणाली तथा पोर्टलको सैद्धान्तिक र व्यवहारिक प्रयोगबारे प्रशिक्षण दिइएको बोर्डले जनाएको छ।

बोर्डले यसअघि काठमाडौं उपत्यकासहित विभिन्न प्रदेशमा यस्तै तालिम सम्पन्न गरिसकेको छ भने बाँकी चलचित्रघरलाई पनि चालु आर्थिक वर्षभित्रै तालिम प्रदान गर्ने जनाएको छ। २५औँ वार्षिकोत्सवअन्तर्गत ‘दक्षता अभिवृद्धि वर्ष’ मनाइरहेको बोर्डले चलचित्र क्षेत्रको क्षमता विकासका कार्यक्रमलाई निरन्तरता दिइरहेको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech