फिल्मी फण्डा । फिल्म ‘बाः एक योद्धा’ले छायांकन सकिएपछि चार कलाकारको नाम ‘रिबिल’ गर्दै सार्वजनिक गरेसँगै यसको प्रचार शैली चर्चामा आएको छ । सागर खनाल, शिशिर सिवाकोटी, सुप्रिया शर्मा र शवि थापालाई पोस्ट–प्रोडक्सन चरणमा आएर बाहिर ल्याउनु निर्माण टिमको नियोजित पब्लिसिटी रणनीति भएको देखिन्छ ।
यसअघि नै मुख्य कलाकार झरना थापा, सुहाना थापा र दिव्यदेव पन्तको नाम सार्वजनिक भइसकेको थियो । तर अन्य कलाकारलाई लामो समयसम्म गोप्य राखेर अन्तिम समयमा सार्वजनिक गर्नुले फिल्म निर्माणसँगै प्रचारलाई पनि उत्तिकै महत्व दिइएको संकेत गर्छ ।
सिने क्षेत्रमा यस्तो शैलीलाई कतिपयले ‘हाइप बिल्डिङ’ मान्छन् । जहाँ कथा वा सामग्रीभन्दा पनि दर्शकको उत्सुकता बढाउन रहस्य कायम गरिन्छ । निर्माण टिमको उद्देश्य फिल्मलाई बलियो बनाउनु हो वा केवल पब्लिसिटी मार्फत दर्शक तान्नु भन्ने विषयमा भने मिश्रित प्रतिक्रिया देखिएको छ ।
निर्देशक हरि लम्सालको निर्देशन रहेको यो फिल्म कुशे औंसीको अवसर पारेर भदौ १९ गते प्रदर्शनमा आउने तयारीमा छ । बुबाको त्याग र संघर्षलाई केन्द्रमा राखिएको भनिएको कथासँगै अब यसको प्रचार शैलीले पनि दर्शकको ध्यान तानेको छ ।