ज्ञानेन्द्र देउजा र निरुता सिंह आज सम्मानित हुँदै

फिल्मी फण्डा । नेपाली फिल्म क्षेत्रको प्रतिष्ठित अवार्ड समारोह ‘डी सिने अवार्ड’को १७ औँ संस्करणमा निर्देशक ज्ञानेन्द्र देउजा र अभिनेत्री निरुता सिंहलाई ‘छायाँछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिने भएको छ।

छायाँछवि क्रियशनद्वारा विगत १७ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस अवार्डले नेपाली फिल्म उद्योगको विकास, विस्तार तथा प्रवर्द्धनमा योगदान पुर्‍याउने कलाकार, निर्देशक, प्राविधिक, स्रष्टा र चलचित्रकर्मीलाई सम्मान गर्दै आएको छ।

आयोजक समितिका अनुसार वर्ष २०८१ मा प्रदर्शन भएका फिल्म तथा तिनमा आबद्ध कलाकार, प्राविधिक र स्रष्टाहरूलाई विभिन्न प्रतिस्पर्धात्मक विधामा उत्कृष्टता पुरस्कार प्रदान गरिनेछ। यस वर्षको अवार्ड समारोहमा फिल्म क्षेत्रका वरिष्ठ व्यक्तित्व, कलाकार, निर्माता, निर्देशक, प्राविधिक तथा पत्रकारहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

त्यसैगरी, नगद रु. १५ हजार ५ सय ५५ राशिको ‘रेखा फिल्म्स छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ पनि प्रदान गरिने भएको छ। उक्त पुरस्कार सचित खड्कालाई दिईने भएको छ ।

नेपाली फिल्म उद्योगलाई थप व्यवस्थित, सशक्त र अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्यसहित आयोजना गरिने १७ औँ डी सिने अवार्ड समारोह जेठ २१ गते आज चलचित्र विकास बोर्डमा सम्पन्न हुँदैछ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech