‘रीत’का निर्देशक दिनेश लिङ्देन सर्वोत्कृष्ट निर्देशक घोषित, ‘ङोल्स्यो रामरानी’ उत्कृष्ट फिल्म

फिल्मी फण्डा। आदिवासी जनजाति चलचित्र महासंघद्वारा आयोजित छैटौं ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०८३’ मा लिम्बु भाषाको चलचित्र ‘रीत’का निर्देशक दिनेश लिङ्देन सर्वोत्कृष्ट निर्देशक घोषित भएका छन्। चलचित्र विकास बोर्डमा सम्पन्न महोत्सवमा ‘रीत’ले निर्देशक अवार्डसँगै ‘पब्लिक च्वाइस अवार्ड’ समेत जित्न सफल भएको छ।

जेठ १७ देखि १९ गतेसम्म सञ्चालन भएको महोत्सवमा गुरुङ भाषाको चलचित्र ‘ङोल्स्यो रामरानी’ उत्कृष्ट चलचित्र घोषित भयो। त्यस्तै मगर भाषाको फिल्म ‘दिलसारा’बाट कल्याण रानामगर उत्कृष्ट नायक तथा नेवारी चलचित्र ‘स्वयङ्गु’बाट भिन्तुना श्रेष्ठ उत्कृष्ट नायिकाको अवार्डबाट सम्मानित भए।

तामाङ भाषाको चलचित्र ‘ह्याङ तामाङ’का सूर्य लामा उत्कृष्ट छायांकार घोषित हुँदा मगर भाषाकै ‘लाहुरेनी’ले उत्कृष्ट लघु चलचित्रको अवार्ड जित्यो। वृत्तचित्रतर्फ ‘आग्रे’ उत्कृष्ट वृत्तचित्र घोषित भएको थियो।

महोत्सवमा लिम्बु, राई, थारु, गुरुङ, मगर, तामाङ, भुजेललगायत विभिन्न आदिवासी जनजातिका भाषा, संस्कृति, परम्परा र जीवनशैलीलाई समेटेर निर्माण गरिएका चलचित्र, वृत्तचित्र तथा लघु चलचित्रहरू प्रदर्शन गरिएका थिए। आयोजकका अनुसार महोत्सवले आदिवासी जनजातिको मौलिक कला, भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech