फिल्मी फण्डा । नेपाली सस्पेन्स थ्रिलर फिल्म ‘स्त्री’को प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण सम्पन्न भएसँगै सार्वजनिक गरिएको नयाँ पोस्टरमार्फत चलचित्रलाई आगामी मंसिर ११ गतेदेखि देशव्यापी प्रदर्शनमा ल्याइने जानकारी दिइएको हो।
निर्माता समीर राईको निर्माण तथा जीवन शाहीको निर्देशनमा तयार भएको फिल्मको पोस्टरमा मुख्य कलाकारहरू फरक–फरक भाव र अवतारमा प्रस्तुत छन्। रातो रंगको पृष्ठभूमिमा डिजाइन गरिएको पोस्टरले फिल्मको रहस्यमय र थ्रिलर शैलीलाई संकेत गरेको छ।
फिल्ममा दीपाश्री निरौला, प्रमोद अग्रहरि, सलोन बस्नेत, नम्रता श्रेष्ठ, रिस्ता बस्नेत तथा दिनेश डीसीको प्रमुख भूमिका रहेको छ। साथै सुरवीर पण्डित, नरेन्द्र थापा, देव सरकार, रश्मी भट्ट, अस्मिता बस्नेत, काजल कर्ण, अन्जु सुनार, रामबाबु हुमागाईं, कल्पना श्रेष्ठ र समीर लामालगायत कलाकारहरूको पनि अभिनय रहेको छ।
टौवा क्रियशनको ब्यानरमा निर्माण भएको फिल्मलाई नेपालभर एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्।
प्राविधिक पक्षमा फिल्ममा रामशरण उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, देव महर्जन र शंकर महर्जनको एक्सन निर्देशन, बन्दे प्रसादको सम्पादन तथा एलिस कार्कीको ब्याकग्राउन्ड स्कोर रहेको छ।
निर्माण पक्षका अनुसार रहस्य, मनोवैज्ञानिक तनाव र रोमाञ्चक घटनाक्रममा आधारित ‘स्त्री’ दर्शकमाझ फरक स्वादको सिनेमाको रूपमा प्रस्तुत हुनेछ।