फिल्मी फण्डा । आदिवासी जनजाति समुदायका भाषा, संस्कृति, परम्परा र पहिचानलाई चलचित्रमार्फत प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३’ विभिन्न ११ विधामा उत्कृष्ट कलाकार तथा चलचित्रकर्मीलाई सम्मान गर्दै सम्पन्न भएको छ।
आदिवासी जनजाति चलचित्र महासंघ संघीय परिषद्ले चलचित्र विकास बोर्ड र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहकार्यमा आयोजना गरेको तीनदिने महोत्सवको समापन समारोहमा चलचित्र, वृत्तचित्र, लघुचलचित्र तथा कलाकारितासम्बन्धी विभिन्न विधाका उत्कृष्ट स्रष्टा र कृतिलाई अवार्ड प्रदान गरिएको हो।
महोत्सवमा प्रदर्शन भएका चलचित्रहरूमध्ये लिम्बू चलचित्र ‘रीत’ ले पब्लिक च्वाइस अवार्ड प्राप्त गर्यो भने गुरुङ चलचित्र ‘ङोल्स्यो रामरानी’ उत्कृष्ट चलचित्र घोषित भयो। सोही चलचित्रका लेखक विवेक गुरुङ उत्कृष्ट स्क्रिप्ट ९लखन अवार्ड० बाट सम्मानित भए।
यस्तै, लिम्बू चलचित्र ‘रीत’ का निर्देशक दिनेश लिङ्देन उत्कृष्ट निर्देशक घोषित भए। मगर चलचित्र ‘दिलसरा’ का अभिनेता कल्याण रानामगर उत्कृष्ट अभिनेता तथा नेवारी चलचित्र ‘स्वयनगु’ की अभिनेत्री भिन्तुना श्रेष्ठ उत्कृष्ट अभिनेत्री अवार्डबाट सम्मानित भए।
प्राविधिकतर्फ तामाङ चलचित्र ‘ह्याङ तामाङ’ का छायाँकार सूर्य लामा ले उत्कृष्ट छायांकन अवार्ड प्राप्त गरे। राजवंशी वृत्तचित्र ‘विराटनगरके प्राचीन राजवंशी’ लाई जुरी अवार्ड प्रदान गरियो भने तामाङ लघु चलचित्र ‘दुखला ग्यम’ ले इन्करेजमेन्ट अवार्ड हात पार्यो।
त्यसैगरी मगर लघु चलचित्र ‘लाहुरेनी’ उत्कृष्ट लघु चलचित्र घोषित हुँदा मगर वृत्तचित्र ‘आग्रे’ उत्कृष्ट वृत्तचित्र अवार्डबाट सम्मानित भएको महोत्सव आयोजक समितिका निर्देशक सागर केरुङ ले जानकारी दिए।
समापन समारोहका प्रमुख अतिथि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निमित्त प्रमुख राम मादेन ले विजेता कलाकार, चलचित्रकर्मी तथा उत्कृष्ट चलचित्र, लघुचलचित्र र वृत्तचित्रका प्रतिनिधिलाई सम्मानपत्र तथा अवार्ड प्रदान गरेका थिए।
महोत्सव अवधिभर विभिन्न आदिवासी जनजाति समुदायका भाषा, संस्कृति, जीवनशैली, इतिहास र सामाजिक यथार्थमा आधारित चलचित्र प्रदर्शन गरिएको थियो। प्रदर्शनपछि आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रममा सहभागीहरूले आदिवासी जनजातिका मौलिक कथा, भाषा र सांस्कृतिक सम्पदालाई संरक्षण तथा प्रवर्द्धन गर्न यस्ता महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।
आयोजकका अनुसार महोत्सवले आदिवासी जनजाति समुदायका सिर्जनशील प्रतिभालाई प्रोत्साहन गर्नुका साथै नेपाली चलचित्र क्षेत्रमा सांस्कृतिक विविधता, समावेशिता र पहिचानको सवाललाई थप मजबुत बनाउने काम गरेको छ। चलचित्रकर्मी, कलाकार, सञ्चारकर्मी तथा दर्शकहरूको उल्लेखनीय सहभागितासँग सम्पन्न महोत्सवले आदिवासी जनजातिका मौलिक कथालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।