मलिका भित्रिएसँगै ‘आ बाट आमा २’ फ्लोरमा, जापान राइट्स बिक्री

फिल्मी फण्डा । अभिनेत्री मलिका महत औपचारिक रूपमा अनुबन्ध भएसँगै चलचित्र ‘आ बाट आमा २’ को छायांकन सुरु भएको छ। सोमबार मकवानपुरको चित्लाङबाट शुभमुहूर्त गर्दै निर्माण टिमले फिल्मलाई फ्लोरमा लगेको हो।

निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्न लागेको चलचित्रमा पल शाह र मलिका महतको जोडी मुख्य आकर्षणका रूपमा रहनेछ। चित्लाङ र काठमाडौंमा छायांकन सम्पन्न गरेपछि बाँकी दृश्यका लागि निर्माण टिम बेलायतको लन्डन जाने तयारीमा छ।

गत वर्ष प्रदर्शनमा आएको ‘आ बाट आमा’ को सिक्वेलका रूपमा निर्माण भइरहेको चलचित्रमा रिश्ता गुरुङ, निकिता आचार्य, विपना थापा, आकाश श्रेष्ठ, सबिन श्रेष्ठलगायत कलाकारको अभिनय रहनेछ। दशैं लक्षित यो चलचित्र आगामी असोज ३० गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

फिल्म ‘आ बाट आमा २’ को जापान प्रदर्शन अधिकार बिक्री भएको छ। निर्माण पक्षका अनुसार जापान राइट्स आर एन्ड बी इन्टरटेनमेन्टले खरिद गरेको हो। यसअघि फिल्मको अमेरिका र क्यानडा अधिकार डोको फिल्म्सले खरिद गरिसकेको थियो।

 


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech