तीनदिने नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आज सम्पन्न हुँदै

फिल्मी फण्डा ।आदिवासी जनजाति समुदायका भाषा, संस्कृति र मौलिक पहिचानलाई चलचित्रमार्फत उजागर गर्ने उद्देश्यले आयोजित छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३ आज समापन हुँदैछ।

आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहकार्यमा बोर्डको सभाहलमा असार १७ गतेदेखि सुरु भएको तीनदिने महोत्सव आज अन्तिम दिनमा पुगेको हो। ‘आदिवासी जनजाति चलचित्रको प्रवर्द्धन, मौलिक भाषा संस्कृतिको संरक्षण’ भन्ने मूल नारासहित सञ्चालन भएको महोत्सवमा विभिन्न समुदायका कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र तथा एआई जेनेरेटेड वृत्तचित्र प्रदर्शन गरिएका छन्।

महोत्सवको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले गरेका थिए। उद्घाटन समारोहमा विभिन्न आदिवासी जनजाति समुदायका सांस्कृतिक झाँकी प्रस्तुत गरिएका थिए।

तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा नेवारी, गुरुङ, मगर, माझी, तामाङ तथा राजवंशी समुदायका भाषा, संस्कृति, इतिहास, मिथक, परम्परा र जीवनशैलीलाई समेटिएका चलचित्रहरू प्रदर्शन गरिएका छन्। आयोजकका अनुसार महोत्सव चलचित्र प्रदर्शनमा मात्र सीमित नभई आदिवासी जनजाति समुदायको सांस्कृतिक अस्तित्व, सामुदायिक स्मृति र लोकज्ञानको संरक्षण तथा प्रवर्द्धन गर्ने अभियानका रूपमा सञ्चालन गरिएको हो।

महोत्सवमा कथानक चलचित्रतर्फ ‘रीत’, ‘स्वयनगु’, ‘ङोल्स्यो रामरानी’ र ‘दिलसरा’ प्रदर्शन गरिएका छन् भने लघु चलचित्रतर्फ ‘तङसिङ’, ‘ह्याङ तामाङ’, ‘निको पहिचान’, ‘दुखला ग्यम’, ‘जाइछै सौसरा’ र ‘लाहुरेनी’ समावेश छन्। त्यसैगरी ‘आग्रे’, ‘लदि पूजा’ तथा एआई जेनेरेटेड वृत्तचित्र ‘बिराटनगरके प्राचीन राजवंशी’ समेत दर्शकमाझ प्रस्तुत गरिएका छन्।

आज समापन समारोहसँगै विभिन्न विधामा उत्कृष्ट चलचित्र तथा स्रष्टाहरूलाई सम्मान गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ। उत्कृष्ट कथानक चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट स्क्रिप्ट, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट छायांकन, उत्कृष्ट लघु चलचित्र, उत्कृष्ट वृत्तचित्र, प्रोत्साहन पुरस्कार तथा जुरी अवार्ड प्रदान गरिनेछ।

आयोजकले महोत्सवले आदिवासी जनजाति समुदायका मौलिक कथा, भाषा र संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याएको विश्वास व्यक्त गरेको छ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech