‘हली’ साउन २२ गतेदेखि प्रदर्शनमा आउने

फिल्मी फण्डा । निर्देशक ओम प्रतीकको निर्देशनमा निर्माण भएको नयाँ नेपाली चलचित्र ‘हली’ आगामी साउन २२ गतेदेखि देशभरका सिनेमाघरमा एकसाथ प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले शुक्रबार चलचित्रका दुई आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।

सार्वजनिक पोस्टरमध्ये एकमा चलचित्रका मुख्य कलाकारहरू तनावपूर्ण र रिसाहा भावमा प्रस्तुत भएका छन्। पोस्टरमा निर्देशक तथा अभिनेता ओम प्रतीक, सरोज खनाल, प्रमोद दीप र सुजता थापाबीचको सम्बन्धमा आएको खटपट र त्यसपछिको अवस्थालाई चित्रण गरिएको देखिन्छ। पोस्टरले चलचित्रको कथाभित्रको एउटा महत्वपूर्ण घटनालाई संकेत गरेको निर्माण पक्षले जनाएको छ।

त्यसैगरी पोस्टरको पृष्ठभूमिमा घरको दैलोमा भित्र र बाहिर थाल बोकेर बसेका दुई महिलाको दृश्यले नारी जीवनको पीडा र सामाजिक विभेदलाई संकेत गरेको अनुमान गर्न सकिन्छ। चलचित्रको कथावस्तु भने टिजर र ट्रेलर सार्वजनिक भएपछि अझ स्पष्ट हुने अपेक्षा गरिएको छ।

जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा निर्माण भएको यस चलचित्रको कथा वास्तविक जीवनका घटनाबाट प्रेरित रहेको निर्माण पक्षले जनाएको छ। चलचित्रले समाज तथा देशमा परिवर्तन ल्याउनका लागि एक जना ‘हली’ नै पर्याप्त हुन्छ भन्ने सशक्त सन्देश प्रवाह गर्ने विश्वास निर्माण टिमको छ।

यसअघि व्यावसायिक रूपमा सफल चलचित्र ‘मोहर’ निर्देशन गरिसकेका निर्देशक ओम प्रतीक यसपटक पनि आफ्नो कथावस्तुप्रति विश्वस्त देखिएका छन्। चलचित्रको कथा तथा पटकथा निर्देशक प्रतीक स्वयंले तयार गरेका हुन्।

व्यवसायी पूजा गुरुङ र जश्मिन श्रेष्ठको लगानी रहेको चलचित्रमा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडी तथा निर्देशक ओम प्रतीक स्वयंको मुख्य अभिनय रहेको छ।

चलचित्रको विशेष आकर्षणका रूपमा समावेश गरिएको प्रमोशनल गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माले विशेष नृत्य प्रस्तुति दिएका छन्। उक्त गीतको कोरियोग्राफी चर्चित कोरियोग्राफर कविराज गहतराजले गरेका हुन्। चलचित्रका अन्य गीतहरूको कोरियोग्राफी भने ओम प्रतीक र कविराज गहतराजले संयुक्त रूपमा गरेका छन्।

चलचित्रका कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण बज्राचार्य तथा मुख्य सहायक निर्देशक जीवननाथ गौतम रहेका छन्। चलचित्रमा राहुल राईको छायांकन, रामप्रसाद चौधरीको सम्पादन तथा विपिन मल्लको सह–सम्पादन रहेको छ।

यस चलचित्रमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ। जश्मिन श्रेष्ठको शब्द तथा बाबुल गिरीको संगीत रहेको गीतमा गायक बाबुल गिरी र चर्चित गायिका शान्ति श्री परियारको स्वर सुन्न पाइनेछ।

कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको यस चलचित्रको वितरण नेशनल सिने ग्रुप प्रालिले गर्ने जनाएको छ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech