चन्द्र पन्तको ‘आ बाट आमा २’मा निकिता आचार्य अनुबन्धित

फिल्मी फण्डा । निर्देशक तथा निर्माता चन्द्र पन्तको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘आ बाट आमा २’मा अभिनेत्री निकिता आचार्य अनुबन्धित भएकी छन्। निर्माण पक्षले बिहीबार उनलाई फिल्मको प्रमुख भूमिकामध्ये एकका लागि औपचारिक रूपमा अनुबन्ध गरेको हो।

फिल्मका निर्देशक तथा निर्माता पन्तले निकितालाई फिल्मको महत्वपूर्ण भूमिकाका लागि चयन गरिएको जानकारी दिए। उनले भने, “हामीले निकितालाई फिल्मको एक मुख्य भूमिकामा अनुबन्ध गरेका छौँ।”

अभिनेत्री निकिताले यसअघि पनि केही नेपाली फिल्ममा अभिनय गरिसकेकी छन्। आगामी असोज ३० गते, अर्थात् बडादशैंको फूलपातीको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्ममा यसअघि नै पल शाह, आकाश श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित बिष्ट तथा नरेन खड्का अनुबन्धित भइसकेका छन्।

फिल्मको कथा तथा पटकथा निर्देशक पन्त स्वयंले तयार गरेका हुन्। आर्या इन्टरटेन्टमेन्ट प्रालीको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मका प्रोडक्सन व्यवस्थापक करणसिंह रसाली रहेका छन्।

फिल्मको नेपालभर वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको निर्माण पक्षले जनाएको छ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech