तिहारमा प्रदर्शन हुने ‘जिरो डिग्री’को फर्स्ट लुक सार्वजनिक

फिल्मी फण्डा । मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको डार्क कमेडी फिल्म ‘जिरो डिग्री’को फर्स्ट लुक भिडियो सार्वजनिक गरिएको छ । फर्स्ट लुकसँगै फिल्म यही वर्षको तिहारमा प्रदर्शन हुने घोषणा गरिएको हो ।

सार्वजनिक भिडियोमा अभिनेता विजय बराललाई ‘पुन्य चौलागाईँ’ नामक वडा अध्यक्षको व्यङ्ग्यात्मक भूमिकामा प्रस्तुत गरिएको छ । भिडियोले नेपाली राजनीतिको दोहोरो चरित्र र भ्रष्टाचारमाथि डार्क कमेडी शैलीमा व्यङ्ग्य गरेको संकेत गर्छ ।

फिल्मको कथा सडक पहुँच नपुगेको विकट गाउँमा आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तान नआउँदासम्म शव सुरक्षित राख्न ‘डीप फ्रिज’ गाउँ पुर्‍याउँदा उत्पन्न हुने घटनामा आधारित रहेको जनाइएको छ ।

सजन काफ्ले र आकास बरालको संयुक्त निर्देशन तथा पटकथा रहेको फिल्ममा विजय बरालसँगै प्रकाश घिमिरे, राजन भुसाल, सनिशा भट्टराई, वसुन्धरा भुसाल, रमेश बुढाथोकी लगायत कलाकारको अभिनय छ ।

कास्कीका विभिन्न स्थानमा छायांकन गरिएको फिल्ममा निशाल पौडेलको छायांकन, चानस पुन मगरको सम्पादन, राजेन्द्र मोक्तानको रङ संयोजन तथा अङ्कित बाबु अधिकारीको संगीत रहेको छ । काठमाडौं बाहिर कुबेर सिने डिस्ट्रिब्युसन र उपत्यकामा डीसीएनले फिल्म वितरण गर्नेछन् ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech