काठमाडौंमा चिनियाँ अवार्ड विजेता ६ फिल्म प्रदर्शन हुने

फिल्मी फण्डा । बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा अवार्ड जितेका ६ चिनियाँ फिल्म काठमाडौंमा प्रदर्शन हुने भएका छन् । ‘टियानतान अवार्ड प्यानोरामा’ अन्तर्गत जुन २ देखि ४ सम्म ठमेलस्थित छायाँ सेन्टरमा फिल्म प्रदर्शन गरिने नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ ।

चीन चलचित्र प्रशासन, बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको सहकार्यमा आयोजना हुने कार्यक्रममा चिनियाँ सांस्कृतिक केन्द्र, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र लुम्बिनी बुद्धिस्ट कन्फुसियस इन्स्टिच्युटको सहयोग रहनेछ ।

प्रतिष्ठानका अध्यक्ष केपी पाठकले कार्यक्रमले नेपाली र चिनियाँ चलचित्रकर्मीबीच सम्बन्ध विस्तारका साथै नेपाली फिल्मलाई चिनियाँ बजारसम्म पुर्‍याउन सहयोग पुग्ने बताए ।

जेष्ठ १९ गते पहिलो दिन ‘ट्रयाप’, ‘बियोन्ड द स्काइज’ र ‘समर डायरी’ प्रदर्शन गरिनेछ । ‘ट्रयाप’ का निर्देशक सागर झाङ दर्शकसँग प्रश्नोत्तर कार्यक्रममा पनि सहभागी हुनेछन् । जेष्ठ २० र २१ गते ‘लस्ट इन द स्टार’ सहित अन्य फिल्म प्रदर्शन हुने जनाइएको छ ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech