असोज १ : राष्ट्रिय चलचित्र दिवस असान्दर्भिक

फिल्मी फण्डा । सरकारले औपचारिक रुपमा मान्यता दिएको तर स्विकार गर्न नसकेको नेपाली चलचित्र उद्योगमा सयौं चलचित्रकर्मी र हजारौ आश्रित छन् । त्यहि चलचित्र उद्योगको राष्ट्रिय दिवसको वारेमा निरन्तर चर्चा हुँदै आएको छ । तर वास्तविक रुपमा राष्ट्रिय चलचित्र दिवस कहिले हो भन्ने कुरामा चलचित्रकर्मीहरुले चासो राखेका छैनन् । न त बोर्डले नै यसमा मतलब राखेका छन् ।

कुनै पनि क्षेत्रले राष्ट्रिय दिवस मनाउँदा वा त्यसलाई कार्यन्वयन गर्दा त्यो क्षेत्रको औपचारिक शुरुवात वा मूख्य विषयलाई आधार बनाएर शुरु गरिएको हुन्छ । नेपाली फिल्मको औपचारिक शुरुवात वा विशेष दिन कसरी कुन तरिकाले कहिले लाई मान्ने भन्ने कुनै आधार विना नै असोज १ लाई राष्ट्रिय चलचित्र दिवस मान्दै आएको छ ।  

चलचित्र विकास बोर्डका तत्कालिन अध्यक्ष गणेश भण्डारीले संचार तथा सूचना प्रविधि मन्त्रीलाई बोर्डमा निमन्त्रण गर्नु परेपछि २०६८ असोज १ गते एउटा विशेष कार्यक्रम तय गर्नु परेको थियो । त्यहि कार्यक्रमलाई अध्यक्ष भण्डारीले राष्ट्रिय चलचित्र दिवसको नाम दिए । 

नेपालको पहिलो फिल्म 'आमा' २०२२ असोज २२ गते प्रदर्शनमा आएको थियो । त्यतिबेला अध्यक्ष भण्डारीले असोज महिनामा पहिलो नेपाली फिल्म रिलिजमा आएको भन्दै असोज १ गते राष्ट्रिय चलचित्र दिवस रहेको घोषणा गरि औपचारिक कार्यक्रमको शुरुवात गरे । अध्यक्ष भण्डारी पछि कुनै पनि बोर्ड अध्यक्षले राष्ट्रिय चलचित्र दिवसलाई औपचारिक रुपमा मनाएका छैनन् । 

त्यसयता केहीले असोज १ लाई नै राष्ट्रिय चलचित्र दिवस मान्दै आएको छ । तर केही चलचित्रकर्मीले त्यस बेलादेखि नै असोज १ गते राष्ट्रिय चलचित्र दिवस हुनुपर्ने कुनै कारण नभएको बताउँदै आएका छन् । त्यतिबेला पंतिकारले पनि जनसवाल दैनिकमा नेपाली चलचित्र उद्योगको राष्ट्रिय चलचित्र दिवस वारे फिचर लेखेको थियो । त्यतिबेला देखि नै यस विषयमा बहस शुरु भएको हो ।

असोज २२ नै वास्तविक राष्ट्रिय चलचित्र दिवस
नेपाल चलचित्रको गतिविधिको कुरा गर्ने हो भने वि.सं. २००६ सालमा शुरु भएको हो । विसं २००६ मंसिर महिनाको पहिलो सातादेखि नेपालमा आम मानिसलाई फिल्म हेर्ने वातावरण बनेको थियो । 
नेपालमा फिल्म प्रदर्शन हुनु भन्दा पचपन्न वर्षअघि संसारमा पहिलो पटक फिल्म देखाइएको थियो । 

नेपालमा नेपाली भाषी चलचित्रको औपचारिक शुरुवाट वि.सं. २००८ सालमा 'सत्य हरिश चन्द्र'बाट शुरु भएको हो । २००७ सालमा कलकत्तामा बनेको फिल्म 'सत्य हरिशचन्द्र'लाई नेपालमा २००८ साल भाद्र २९ गते शुक्रवार प्रदर्शन गरिएको थियो । 

त्यस पछि नेपालमा वि.सं. २०१९ सालमा संचार शाखाबाट फिल्म बनाउने चर्चा शुरु भयो ।२०२१ मा नेपाली फिल्म 'आमा'को छायाँकन भयो । २०२२ साल असोज २२ गते बुधवार 'आमा'लाई सार्वजनिक प्रदर्शन गरियो । नेपालको इतिहासमा असोज २२ नै नेपाली फिल्मको पहिलो औपचारिक प्रदर्शन मिति दर्ज भयो भने नेपालको पहिलो चलचित्र आमा रह्यो । सोही अनुसार असोज २२ लाई नै नेपाल सरकार र चलचित्र विकास बोर्डले औपचारिक रुपमा राष्ट्रिय चलचित्र दिवस घोषणा गरि मनाउनु पर्दछ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech