फिल्मी फण्डा। नेपाली म्युजिक भिडियो तथा भिजुअल स्टोरीटेलिङको क्षेत्रमा उमेश बहादुर शाह एक प्रतिभाशाली र समर्पित सिनेमाटोग्राफरका रूपमा उदाउँदै आएका छन् । आफ्नो सिर्जनात्मक दृष्टि, मेहनत र मातृभूमिप्रतिको प्रेमका कारण उनले नेपाली मनोरञ्जन क्षेत्रमा छुट्टै पहिचान बनाउँदै गएका छन् ।
व्यावसायिक रूपमा नेपाली मिडिया क्षेत्रमा प्रवेश गर्नु अघि उमेशले विदेशमा ६ वर्षसम्म संघर्षपूर्ण जीवन बिताएका थिए । विदेशमा अवसर र अनुभव प्राप्त गरे पनि उनको मन भने सधैं नेपालमै जोडिएको थियो । नेपाली मनोरञ्जन क्षेत्रलाई योगदान गर्ने उद्देश्यसहित उनले स्वदेश फर्किने निर्णय गरेका हुन् ।
पछिल्लो तीन वर्षदेखि उमेश नेपालमै सक्रिय रूपमा क्यामेरा पर्सन तथा सिनेमाटोग्राफरका रूपमा कार्यरत छन् । छोटो समयमै उनले आफ्नो कलात्मक क्यामेरा वर्क, क्रिएटिभ भिजन र प्राविधिक दक्षताका कारण उद्योगमा अलग पहिचान बनाउन सफल भएका छन् ।
हालसम्म उनले ३०० भन्दा बढी म्युजिक भिडियो, डकुमेन्ट्री तथा विभिन्न भिजुअल प्रोजेक्टमा काम गरिसकेका छन् । साथै, उनले चर्चित टक शो VFY TALKS र THE NATION SPEAKS मा पनि सिनेमाटोग्राफरको रूपमा काम गरेका छन् । उनका दृश्य संयोजनले दर्शकमाझ प्रभावशाली भिजुअल स्टोरीटेलिङ प्रस्तुत गर्न महत्वपूर्ण भूमिका खेलेको बताइन्छ ।

क्यामेरामार्फत भावना, अभिव्यक्ति र कथालाई जीवन्त रूपमा प्रस्तुत गर्ने क्षमताका कारण उमेशले उद्योगमा सम्मान र प्रशंसा प्राप्त गरिरहेका छन् । निरन्तर मेहनत, सिर्जनशीलता र समर्पणका साथ उनी नेपाली सिनेमाटोग्राफी क्षेत्रमा आशालाग्दा प्रतिभाका रूपमा स्थापित हुँदै गएका छन् ।
विदेशको जीवन छोडेर स्वदेश फर्की आफ्नै देशको कला र मनोरञ्जन क्षेत्रमा योगदान गर्ने उनको यात्रा धेरै युवा नेपाली कलाकारका लागि प्रेरणाको स्रोत बनेको छ ।