सार्वजनिक ‘चुड्का भजन’मा पुरुषोत्तम ढुंगेलको शब्द रचना रहेको छ भने किरण भुसाल लगायतको स्वर सुन्न सकिन्छ। किरण भुसालकै संगीत निर्देशन रहेको यस गीतमा परम्परागत चुड्का लयको आकर्षक प्रयोग गरिएको छ। गीतको तालबाजा (पर्कसन)मा किरण भुसाल र रायपुर समुदायले साथ दिएका छन् भने मादल, मुजुरा र खैँजडीमा सन्देश पौडेलको उत्कृष्ट प्रस्तुति छ। गोविन्द पी.के. आँशु, अच्युत कडेल, सञ्जय (सपुत मोक्तान), राहुल मोक्तान, दिनेश लामा, ह्वाञ्ची लामा र मोहनको अतिरिक्त स्वर रहेको यस भजनलाई रिदम कँडेलले मिक्सिङ तथा मास्टरिङ गरेका छन्।

गत शुक्रवारबाट प्रदर्शनमा आएको यस चलचित्रले दर्शकको साथ पाएको छ। चलचित्र हेरेका दर्शकहरूको स्वतःस्फूर्त सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’का कारण अहिले देशभरका सिनेमाघरहरूमा दर्शकको चाप बढेको छ। दर्शकको उत्साह र प्रत्यक्ष प्रतिक्रिया बुझ्न शनिवार राजधानीका विभिन्न हलहरूमा पुगेका निर्माता तथा वरिष्ठ गायक रामकृष्ण ढकालसहित कलाकारहरू वर्षा राउत, विजय बराल र मेक्सम गौडेललाई दर्शकले हुटिङ र गडगडाहट तालीले स्वागत गरेका थिए। पर्दामा देखेका कलाकारलाई आफ्नै अगाडि पाउँदा दर्शकको क्रेज छताछुल्ल भएको थियो।
सिनेमा हेरेर बाहिरिएका अधिकांश दर्शकले यसलाई पेट मिचीमिची हँसाउनेदेखि लिएर आँखा रसाउनेसम्मको गहिरो भावनात्मक यात्रा गराउने ‘नेपालीपन बोकेको अब्बल मास्टरपिस’को सङ्ज्ञा दिएका छन्। विशेष गरी अभिनेत्री वर्षा राउतको मर्मस्पर्शी अभिनय तथा अभिनेताद्वय विजय बराल र मेक्सम गौडेलको दमदार प्रस्तुतिले सबैको मन जितेको छ।
रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यस चलचित्रलाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन्। निर्देशक पाण्डेय स्वयंको कथा रहेको चलचित्रको पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन्। चलचित्रमा विजय, वर्षा र मेक्समका साथमा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङको सशक्त अभिनय रहेको छ।
सागर ज्ञवाली कार्यकारी निर्माता रहेको यस चलचित्रमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह-निर्माताका रूपमा रहेका छन्। महेश पौडेलको छायांकन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ्ग संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड स्कोर र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको प्राविधिक रूपमा अब्बल यस चलचित्रलाई आरआर फिल्म्सले देशभर वितरण गरिरहेको छ। दर्शकबाट प्राप्त मायाले चलचित्रको बक्सअफिस यात्रा आगामी दिनमा थप रफ्तारमा अगाडि बढ्ने निश्चित देखिएको छ।