गतबर्षको हिट फिल्म ‘मन विनाको धन’को सिक्वेल बन्ने भएको छ । गत वर्ष रिलिज भएर बक्स अफिसमा ४ करोड ग्रस कलेक्शन गर्न सफल यो फिल्मको सिक्वेल ‘मन विनाको धन २’ निर्माणको घोषणा गरिएको हो ।
यो फिल्मलाई पनि टंक बुढाथोकीले नै निर्देशन गर्नेछन् । टंक वुढाथोकी प्रोडक्सनको दोस्रो प्रस्तुतिको रुपमा यो फिल्म निर्माण हुन लागेको हो ।
फिल्ममा पटकथा तथा संवाद शिवम् अधिकारीको रहनेछ । अहिले, शिवम्ले धमाधम यो फिल्मको कथा लेखिरहेका छन् । फिल्ममा कथा र संगीत पनि टंककै रहनेछ । यसैबिच, यो फिल्मको मुख्य भूमिकामा नायिका पूजा शर्मा अनुवन्धित भएकी छिन् । पूजा र टंकबिच आइतबार फिल्मका लागि कागजी संझौता भएको छ । भदौबाट यो फिल्मको छायांकन सुरु हुने बताइएको छ ।
फिल्ममा अरु को कलाकार रहने हुन् भन्ने बिषयमा निर्माणपक्षले केही पनि बताएको छैन । टंकले भने–‘हामी, अहिले प्रि–प्रोडक्सनको काममा व्यस्त छौं । सुरुवातमै पूजाजीलाई फिल्ममा अनुवन्धित गरेका छौं । अरु, कलाकारहरुलाई पनि एकपछि अर्को रुपमा अनुवन्धित गर्ने तयारी भइरहेको छ ।’
नायिका शर्माले पनि यो फिल्ममा जोडिन पाउँदा आफू खुशी भएको बताइन् । पूजाले भनिन्–‘फिल्मको कथावस्तु निकै पारिवारिक छ । मलाई आफ्नो भूमिका र टिम नै मन परेका कारण काम गर्न तयार भएको हुँ ।’
यो फिल्मलाई विष्णु माया मैनालीले निर्माण गर्नेछिन् ।