फिल्मी फण्डा। नेपाली सिनेमाले विस्तारै विश्व बजारमा आफ्नो उपस्थिति जनाउँदै जाँदा यसले सकारात्मक संकेत दिएको विषयमा चलचित्र पत्रकार संघ नेपाल, कास्कीको आयोजनामा भएको चौथो संस्करणको ‘सिनेमा संवाद’ अन्तर्गत विभिन्न सेसनमा घनीभूत छलफल गरिएको छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–८, ल्वाङमा शनिबार आयोजित पहिलो सेसनमा ‘ग्लोबल मार्केटमा नेपाली सिनेमा’ विषयमा अभिनेत्री बेनिशा हमाल र लेखक, निर्देशक तथा निर्माता सामिप्यराज तिमिल्सिना सँग सञ्चारकर्मी बिमला थापा ले संवाद गरिन् ।
संवादका क्रममा नेपाली सिनेमाको बजार विस्तारै ग्लोबल मार्केटमा पुगिसकेको र अब यसको विकास तथा विस्तार आवश्यक रहेको विषयमा चर्चा भयो । सहजकर्ता थापाले ‘नेपाली फिल्म ग्लोबल मार्केटमा कहिले छिर्छ ?’ भन्ने जिज्ञासा राख्दा चलचित्र समीक्षकसमेत रहेका तिमिल्सिनाले भने, ‘ग्लोबल मार्केटमा हामी छिरिसक्यौं, अब कति हल्ला मच्चाउने भन्ने बाँकी छ ।’
मीन भाम निर्देशित नेपाली फिल्म शाम्बाला ले अघिल्लो वर्ष Berlin International Film Festival मा नयाँ कीर्तिमान कायम गरेको थियो । साथै Cannes Film Festival मा समेत नेपालले सहभागिता जनाइसकेको उल्लेख गर्दै तिमिल्सिनाले ठूलो उद्योग मानिने भारतले समेत नेपालजस्तो उपलब्धि हासिल गर्न नसकेको दाबी गरे । उनका अनुसार नेपाली फिल्म उद्योग अन्य धेरै उद्योगको तुलनामा ग्लोबल मार्केटमा अघि बढिरहेको छ ।
उनले आफ्नो फिल्म उनको स्वीटर ले अष्ट्रेलिया, न्यूजिल्याण्ड र यूएईबाट मात्रै ६ करोड रुपैयाँको व्यापार गरेको बताए । त्यस्तै जेरी एन्ड टप ले अष्ट्रेलियाबाट साढे ३ करोड रुपैयाँ कमाएको र यी दुवै फिल्मले भारतमा पनि करिब ३ करोडको व्यापार गरिसकेको जानकारी दिए ।
अभिनेत्री हमालले फिल्म करियरको सुरुआती चरणमा विदेश भ्रमण गर्दा विश्व सिनेमा बुझ्ने अवसर पाएको स्मरण गरिन् । करिब १० वर्षअघि कालोपोथी को हिस्सा बनेर टोकियो र सिंगापुरमा आयोजित फिल्म फेस्टिभलमा सहभागी हुँदा आफूले नयाँ अनुभव हासिल गरेको बताइन् । उनले भनिन्, ‘विगतमा धेरै कुरा थाहा थिएन । वर्ल्ड सिनेमा कस्तो हुन्छ भन्ने पनि बुझेकै थिइनँ । त्यहाँ नजिकबाट धेरै फिल्म हेर्न पाइयो ।’
अर्को प्रसंगमा वक्ताहरूले नेपाली फिल्मको कथा बलियो भए पैसा अभावकै कारण खुम्चिनुपर्ने अवस्था नरहेको बताए । तिमिल्सिनाले भने, ‘कथा राम्रो भयो भने अहिले पैसा छैन भनेर बस्नुपर्ने अवस्था छैन । लगानी गर्न दुनियाँ तयार छ ।’ पोखराको लामाचौरमा छायांकन गरिएको उनको फिल्म एकमुठ्ठी बादल को कलर ग्रेडिङ थाइल्याण्डमा भइरहेको र साउन्डको काम भारतमा सम्पन्न भएको जानकारी दिए ।
उनका अनुसार ग्लोबल मार्केटका लागि कुनै फिल्म फेस्टिभलमा फिल्म छनोट भए विदेशी वितरकहरू त्यसलाई किन्न इच्छुक हुने गर्छन् । ओटीटी राइट्ससमेत बिक्री हुने गरेको उनले बताए ।
संवादका क्रममा नेपाली फिल्ममा अहिले धेरै प्रयोग भइरहेको विषय पनि उठाइएको थियो । तिमिल्सिनाले भने, ‘नेपाली फिल्म अहिले अत्यधिक एक्सपेरिमेन्ट भइरहेको चरणमा छ । रोनाधोना मात्रै भएका फिल्म छैनन् ।’ उनका अनुसार गत वर्ष करिब पाँच दर्जन फिल्म रिलिज भएका थिए, जसमध्ये केही निकै रोचक भए पनि बक्स अफिसमा अपेक्षित सफलता हासिल गर्न सकेनन् ।
अभिनेत्री हमालले पनि नेपाली सिनेमामा कथाको अभाव नरहेको बताइन् । साथै नेटफ्लिक्स तथा अन्य ओटीटी प्लेटफर्ममा नेपाली फिल्म पुर्याउन सम्बन्धित निकायले अझ पहल गर्नुपर्ने विषयसमेत उठाइएको थियो ।
पोखरामा आयोजित ‘सिनेमा संवाद’ मा नेपाली सिनेमा क्षेत्रमा पुरानो पुस्ताले नयाँ पुस्तालाई सिर्जनात्मक र फरक विषयवस्तु हस्तान्तरण गर्नुपर्नेमा जोड दिइएको छ ।
‘नयाँ पुस्ता र नेपाली सिनेमा’ विषयक सेसनमा अभिनेत्रीहरू आँचल शर्मा, सनिषा भट्टराई तथा अभिनेता सलोन बस्नेत सँग सञ्चारकर्मी उत्सव रसाइली ले संवाद गरे ।
अभिनेत्री शर्माले अबको पुस्तालाई सिर्जनात्मक र फरक सोच भएका फिल्म दिनुपर्ने बताइन् । उनले भनिन्, ‘हामी अहिले नयाँ पुस्ता हौं, पछि हामी पनि पुरानो पुस्ता भनेर चिनिनेछौं । त्यसैले अब आउने जेनेरेसनका लागि रचनात्मक र फरकखालका फिल्म बन्नुपर्छ ।’
उनका अनुसार पहिले स्टेरियोटाइप कथावस्तु धेरै थिए, जसलाई अहिलेको पुस्ताले तोड्ने प्रयास गरिरहेको छ । ‘एउटा धार चलेपछि त्यसैलाई पछ्याउने परम्परा अब तोडिनुपर्छ,’ उनले भनिन् ।
अभिनेता बस्नेतले पनि आफू अभिनीत युनिभर्सिटी अफ गुन्डाज मार्फत स्टेरियोटाइप कथा तोड्ने प्रयास भइरहेको बताए । उनले भने, ‘नेपाली चलचित्रमा चलिरहेको चेन ब्रेक गर्न अन्त कतैबाट भएन भने आफैंबाट सुरु गर्नुपर्छ भन्ने लागेर काम गरिरहेको छु ।’
अभिनेत्री भट्टराईले महिला सशक्तीकरणमा आधारित फिल्म बन्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘यहाँ महिला केन्द्रित फिल्म चल्दैन भन्ने गरिन्छ, तर राम्रो कथा कहिल्यै जेन्डरमा सीमित हुँदैन । महिलालाई पनि अवसर दिनुपर्छ ।’
वक्ताहरूले आफूहरू पुरानो पुस्ताको राम्रो कामबाट प्रेरित हुँदै अगाडि बढेको र अब आउने पुस्तालाई पनि त्यही पाठ हस्तान्तरण गर्नुपर्ने धारणा राखे।
बस्नेतले एनालग युगदेखि डिजिटल युगसम्मको परिवर्तन आफूले नजिकबाट देखेको बताउँदै अहिले नयाँ पुस्ताका निर्माता तथा कलाकारले धेरै चुनौतीसँग जुध्नुपरेको अनुभव सुनाए ।
पर्यटकीय गाउँ ल्वाङमा आयोजित ‘सिनेमा संवाद’ मा अभिनेता निखिल उप्रेती ले ‘खिरमा ल्वाङ हाल्ने कि नहाल्ने’ उदाहरणमार्फत सिनेमामा द्वन्द्वको महत्व व्याख्या गरे ।
उनले भने, ‘खिर पकाउँदा ल्वाङ नहाले पनि खिर त बन्छ, तर ल्वाङ हालिसकेपछि त्यसले दिने स्वाद फरक हुन्छ ।’
चलचित्र पत्रकार संघ नेपाल, कास्की शाखाले आयोजना गरेको कार्यक्रमको तेस्रो सेसनमा अभिनेता उप्रेती र लेखक–निर्देशक मनोज पण्डित सँग सञ्चारकर्मी सन्जोक बस्याल ले ‘सिनेमामा द्वन्द्व : दर्शकको माग कि उद्योगको दबाब ?’ विषयमा संवाद गरेका थिए ।
उप्रेतीले सिनेमामा द्वन्द्व राख्दा त्यसको आवश्यकता स्पष्ट हुनुपर्ने बताए । ‘चलचित्रमा द्वन्द्वलाई राम्रोसँग प्रस्तुत गरिएको हुँदैन । द्वन्द्व किन आवश्यक भयो भन्ने आधार पनि देखाइनुपर्छ,’ उनले भने ।
निर्देशक पण्डितले भने पात्रले भोग्ने असहज परिस्थिति नै द्वन्द्व भएको व्याख्या गरे । उनले महाभारत को उदाहरण दिँदै अर्जुनको आन्तरिक संघर्षलाई सबैभन्दा ठूलो द्वन्द्वको रूपमा प्रस्तुत गरे ।
उनले नेपाली फिल्ममा ‘द्वन्द्व’ भनेर छुट्टै लेख्ने चलन हटाउनुपर्ने धारणा राखे । भारतीय फिल्म उद्योगमा ‘द्वन्द्व’ को सट्टा ‘थ्रिल’ वा ‘एक्सन’ शब्द प्रयोग हुने उदाहरण पनि दिए ।
उप्रेतीले आफूलाई नेपाली फिल्म उद्योगले एक समय ‘बिकाउ पात्र’ को रूपमा प्रयोग गरेको अनुभव सुनाउँदै द्वन्द्वसँग मानिसको गहिरो सम्बन्ध रहेको बताए । ‘बाटोमा दुईजना झगडा गरिरहेका देख्यौं भने हामी सबै कुरा बिर्सेर हेर्छौं । द्वन्द्वसँग हाम्रो मानसिक सम्बन्ध छ,’ उनले भने ।
उनले विश्वभर एक्सन र द्वन्द्वप्रधान फिल्म धेरै बन्नुको कारण पनि यही भएको बताए । ‘द्वन्द्व यदि जस्टिफाइ छैन भने त्यो केवल झगडामा परिणत हुन्छ,’ उनले स्पष्ट पारे ।
उप्रेतीले नेपाली बजारबाट विदेशी फिल्मले करोडौं रुपैयाँ कमाएर लैजाने गरेकोमा दुःख व्यक्त गरे । ‘एउटा विदेशी फिल्मले नेपालमा २५ देखि ३० करोड रुपैयाँसम्म व्यापार गर्छ, तर त्यति कमाउन नेपालीहरू विदेशमा धेरै दुःख गर्छन्,’ उनले भने ।
तर निर्देशक पण्डितले भने नेपाली फिल्म गुणस्तरीय नबन्दा विदेशी फिल्म हावी भएको तर्क गरे । ‘हामीले नेपाली दर्शकलाई मनोरञ्जन दिने स्तरका फिल्म बनाउन सकेका छैनौं,’ उनले भने, ‘१० प्रतिशत फिल्मले दर्शकलाई रुवाए, ९० प्रतिशत फिल्मले निर्मातालाई रुवाए ।’
उनले राम्रो फिल्मले दर्शकलाई अनुभूति दिनुपर्ने उल्लेख गर्दै भने, ‘फिल्म एउटा अनुभव हो । राम्रो फिल्मले ज्ञान पनि दिन्छ, तर मनोरञ्जनबिना दर्शकले ज्ञान ग्रहण गर्दैन ।’
‘कन्टेन्ट क्रिएटर भर्सेस नेपाली सिनेमा’ विषयमा पनि कार्यक्रममा गहन छलफल गरिएको थियो ।
छलफलमा कन्टेन्ट क्रिएटरहरू इस्टु कार्की र महेश भण्डारी सँग चलचित्र पत्रकार सन्ध्या थापा ले संवाद गरिन् ।
इस्टु कार्कीले सिनेमा र सामाजिक सञ्जालका कन्टेन्टलाई फरक रूपमा हेर्न नहुने तर्क गरिन् । उनले भनिन्, ‘मुभी पनि आफैंमा एउटा कन्टेन्ट हो, केवल यसको लम्बाइ फरक हुन्छ । सामाजिक सञ्जालका रिल्स छोटा हुन्छन् ।’
उनले कन्टेन्ट क्रिएसनले गाउँका प्रतिभा र पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेलेको बताइन् । साथै संघर्षरत थिएटर कलाकारलाई स्वतन्त्र र आत्मविश्वासी बनाउन पनि यो क्षेत्रले सहयोग गरेको धारणा राखिन् ।
महेश भण्डारीले सामाजिक सञ्जाल आउनुअघि पनि कन्टेन्ट क्रिएसन अस्तित्वमा रहेको बताए । ‘जुन कुरा बिक्न सक्छ, सेयर हुन सक्छ र जसमा मनोरञ्जन वा सन्देश हुन्छ, त्यो नै कन्टेन्ट हो,’ उनले भने ।
उनले कन्टेन्ट क्रिएटर आफैं लगानीकर्ता, लेखक र निर्देशकसमेत हुने भएकाले यसको जिम्मेवारी ठूलो हुने बताए । साथै पूर्वराजा ज्ञानेन्द्र शाह वा राजनीतिज्ञ केपी शर्मा ओली का केही भिडियोहरू जनतासँग जोडिएकाले भाइरल हुने गरेको उदाहरण दिए ।
पछिल्लो समय कन्टेन्ट क्रिएटरलाई सिनेमामा भित्र्याउने लहरबारे बोल्दै इस्टुले आफू केवल पैसाका लागि फिल्म नगर्ने स्पष्ट पारिन् । ‘मेरो लागि फिल्म एउटा सपना र प्यासन हो । म समाजमा प्रभाव पार्ने पात्र निभाउन चाहन्छु,’ उनले भनिन् ।
भण्डारीले भने कलाकारितामा प्यासनसँगै आर्थिक पक्ष पनि महत्वपूर्ण हुने यथार्थ स्वीकार्नुपर्ने बताए । ‘यदि प्यासनले मात्रै काम गर्ने हो भने धेरै कलाकार विदेशिनुपर्ने वा यो क्षेत्र छोड्नुपर्ने अवस्था आउँछ,’ उनले भने, ‘उद्योग अगाडि बढाउन प्यासनसँगै पैसाको हिसाब पनि आवश्यक हुन्छ ।’