‘मालती मंगले’को ग्रान्ड प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

फिल्मी फण्डा। यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘मालती मंगले’को ग्रान्ड प्रिमियर भव्यताका साथ सम्पन्न भएको छ। प्रिमियर शोमा उपस्थित विशिष्ट व्यक्तित्वहरू, सञ्चारकर्मी र दर्शकबाट फिल्मले उत्कृष्ट प्रतिक्रिया पाएको छ।

फिल्मले उठाएको विषयवस्तु र त्यसलाई पर्दामा गरिएको आकर्षक प्रस्तुतिले दर्शकलाई २ घण्टा ३८ मिनेटसम्म पूर्ण रूपमा बाँधेर राख्न सफल भएको सहभागीहरूले बताएका छन्।

प्रिमियरपछि कलाकारहरूको अभिनयको व्यापक प्रशंसा भएको छ। अभिनेता विजय बरालको स्वाभाविक अभिनयको चर्चा सधैँझैँ यस पटक पनि कायम रहँदा नायिका वर्षा राउतले आफ्नो करियरकै उत्कृष्ट अभिनय गरेको भन्दै दर्शक तथा समीक्षकबाट प्रशंसा बटुलेकी छन्।

त्यस्तै, टेलिभिजनका विभिन्न शोमार्फत कमेडी कलाकारका रूपमा परिचित मेक्सम गौडेलले यस फिल्मबाट ठूलो पर्दामा आफूलाई बलियो रूपमा प्रस्तुत गरेका छन्। उनको उपस्थितिलाई फिल्मको प्रमुख ‘प्लस पोइन्ट’का रूपमा हेरिएको छ।

फिल्म हेर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबी लामिछाने पनि प्रिमियरमा पुगेका थिए। फिल्मका निर्माता तथा गायक रामकृष्ण ढकालका पुराना साथीसमेत रहेका लामिछानेले नेपालमा भन्नै पर्ने कथा फिल्मले उठाएको प्रतिक्रिया दिए।

फिल्म हेरुन्जेल आफू कतै पनि बोर नभएको भन्दै उनले भने, “मैले धेरैपछि फिल्म हेर्ने मौका पाएँ। यो फिल्म निकै राम्रो छ। कमेडी पनि छ, इमोसन पनि छ, कलाकारहरूको अभिनय तथा संवाद पनि राम्रो छ। आम दर्शक भएर हेर्दा यो फिल्म निकै राम्रो छ। निर्देशक नयाँ भए पनि नयाँले बनाएको फिल्म जस्तो लाग्दैन। म यो फिल्म हेरेर हाँसे पनि, इमोसनल पनि भएँ।”

सभापति लामिछानेका अतिरिक्त वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले पनि फिल्मको प्रशंसा गरेका थिए। प्रिमियर शोमा कलाकार कृष्ण मल्ल, शर्मिला मल्ल, किरण केसी, यम बराल, सन्दीप क्षेत्री लगायत फिल्म युनिट, सञ्चारकर्मी, परिवारका सदस्य तथा सङ्गीत र फिल्म क्षेत्रका विभिन्न व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।

रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यस फिल्मको कथा निर्देशक प्रकु पाण्डेय स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन्।

फिल्ममा विजय, वर्षा र मेक्समका साथमा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला, सुनिल तामाङ लगायत कलाकारहरूको अभिनय रहेको छ।

सागर ज्ञवाली कार्यकारी निर्माता रहेको यस फिल्ममा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह–निर्माताका रूपमा रहेका छन्।

प्राविधिक रूपमा समेत सशक्त मानिएको फिल्ममा महेश पौडेलको छायाङ्कन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ्ग संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड स्कोर र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको छ।

आरआर फिल्म्सले वितरण गर्ने यो फिल्म शुक्रबारदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउँदैछ।

 
 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech