फिल्मी फण्डा । सरकारी अध्यादेशका कारण सेन्सर बोर्डका सदस्यहरू पदमुक्त भएपछि उत्पन्न अन्योलबीच नेपाली चलचित्र ‘मालती मंगले’ले जाँचपास प्रक्रिया पूरा गर्दै प्रदर्शनको बाटो खुलेको छ। चलचित्रले ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेको छ र यही वैशाख २५ गते शुक्रबारदेखि प्रदर्शनमा आउने तयारी गरिएको छ।
करिब २ घण्टा ३८ मिनेट लामो यस चलचित्रको सेन्सर प्रक्रिया नियमित संरचना नभए पनि वैकल्पिक व्यवस्थामार्फत सम्पन्न गरिएको हो। चलचित्र विकास बोर्डको सिफारिसमा प्रतिनिधि खटाएर जाँचपास गरिएको बताइएको छ। पदेन सदस्यहरूको उपस्थितिमा प्रक्रिया अघि बढाइएकोले कानुनी अड्चन नआएको जनाइएको छ।
निर्देशक प्रकु पाण्डेयको कथा रहेको चलचित्रमा पटकथा तथा संवाद संयोग गुरागाईंले लेखेका हुन्। रानी फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रमा विजय, वर्षा र मेक्समसँगै प्रकाश घिमिरे, सरिता गिरीलगायत कलाकारहरूको अभिनय छ।
चलचित्रका गीत–संगीत र प्रचार सामग्री सार्वजनिक भइसकेका छन्, जसले प्रारम्भिक रूपमा दर्शकको चासो आकर्षित गरेको निर्माण पक्षको दाबी छ। प्राविधिक पक्षमा छायांकन, सम्पादन र ध्वनि संयोजनलाई बलियो बनाइएको निर्माण टिमले जनाएको छ।
आरआर फिल्म्समार्फत वितरण हुने ‘मालती मंगले’ले सेन्सर अन्योलका बाबजुद समयमै प्रदर्शनमा आउँदैछ, जसलाई नेपाली चलचित्र उद्योगका लागि परीक्षणको रूपमा पनि हेरिएको छ।