‘महाराजधिराज’को भव्य शुभमुहूर्तसँगै छायांकन यात्रा सुरु

फिल्मी फण्डा । नयाँ नेपाली चलचित्र ‘महाराजधिराज’ले औपचारिक रूपमा निर्माण यात्रा सुरु गरेको छ । मंगलबार बिहान बंगलामुखी मन्दिरमा वैदिक विधिअनुसार शङ्खधुन र पञ्चेबाजासहित गरिएको शुभमुहूर्तसँगै चलचित्रले छायांकनतर्फ पाइला चालेको हो।

बिहान ८ बजे सुरु भएको पूजा ११ः११ बजेसम्म सञ्चालन भएको थियो। कार्यक्रममा चलचित्रका मुख्य कलाकारहरू पुष्प खड्का, पूजा शर्मा, आर्यन सिग्देल, उषा रजकलगायतको उपस्थिति रहेको थियो। निर्देशक परिच्छेद सेनले यसलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’का रूपमा प्रस्तुत गरेका छन्।

निर्माण टिमका अनुसार चलचित्रको छायांकन यही महिनाको २५ गतेबाट सुनसरीको श्रीलंका टापुबाट सुरु हुनेछ। त्यहाँ एक हप्ताको सुटिङ सकेपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा पर्यटकीय स्थानहरूमा करिब ७० दिन छायांकन गरिनेछ।

सामाजिक पृष्ठभूमिमा आधारित पिरियड ड्रामाका रूपमा निर्माण हुन लागेको ‘महाराजधिराज’को छायांकन नवराज थापाले गर्नेछन् भने कथा तथा निर्देशन परिच्छेद सेनकै रहनेछ।

चलचित्रमा आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित बिष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डीसी, सुशील सिटौलालगायत कलाकारहरूको अभिनय रहनेछ। यसका साथै नीर शाह, विशाल पहाडी, आशा पौडेललगायत अनुभवी कलाकारको पनि सहभागिता रहने जनाइएको छ।

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रका निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट रहेका छन् भने प्रस्तुतकर्ता विराज विष्ट हुन्।

करिब ८० कलाकारको ठूलो समूह सहभागी रहने ‘महाराजधिराज’लाई आगामी फूलपातीको अवसर पारेर प्रदर्शन गर्ने तयारी निर्माण पक्षले जनाएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech