‘लालीबजार’ रोक आदेशविरुद्ध चलचित्रकर्मी माइतीघरमा

फिल्मी फण्डा। अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठाउँदै चलचित्रकर्मीहरूले प्रदर्शन गरेका छन् ।

 

कलाकार स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र निर्माता संघका अध्यक्ष उदय सुब्बा, खगेन्द्र लामिछाने, मनोज पण्डित, अशोक शर्मा, गणेशदेव पाण्डेलगायतको उपस्थितिमा बुधबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो ।

 

प्रदर्शनमा सहभागीहरूले कलाको स्वतन्त्रताको पक्षमा विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । ‘सिनेमा बोलेस, साहित्य सुनाओस्, हाम्रो साँचो कथा बाहिर ल्याओस्’, ‘सिनेमा–साहित्य बोल्न देऊ, हाम्रो कथा खुल्न देऊ’, ‘संविधानले दिएको सम्मान–हाम्रो अडान, सबै जात, धर्म, समुदाय–हामी सचेत सधैं जान’जस्ता नारा प्लेकार्डमा उल्लेख थिए ।

 

पाटन उच्च अदालतले मंगलबार चलचित्र ‘लालीबजार’को प्रदर्शन २२ वैशाखसम्मका लागि रोक लगाउने आदेश दिएको थियो । यम थापा निर्देशित उक्त फिल्म १८ वैशाखदेखि प्रदर्शनमा आउने तयारीमा थियो ।

 

फिल्मका केही शब्दहरूले वादी समुदायको आत्मसम्मानमा चोट पुर्‍याएको भन्दै सो समुदायको तर्फबाट रोशनी नेपालीले मुद्दा दायर गरेकी थिइन् । सोही मुद्दामा सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले अस्थायी आदेश जारी गरेको हो ।

 

षट्कोण आर्ट्सले निर्माण गरेको ‘लालीबजार’ वादी समुदायका महिलाले गर्ने संघर्षको कथामा आधारित फिल्म हो । सोमबार मात्रै केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई युनिभर्सल प्रमाणपत्र दिएको थियो ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech