फिल्मी फण्डा। वैशाख ११ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ले प्रदर्शनको पहिलो दिनमै सुखद ओपनिङ गरेको छ । फिल्मले पहिलो दिन करिब ३७ लाख रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ ।
निर्माता सुशील पोखरेलका अनुसार फिल्मको ओपनिङ कलेक्सन ३८ लाख नजिक पुगेको छ । उनले दर्शकको उपस्थितिमा वृद्धि भइरहेकाले आगामी दिनमा व्यापार अझ बढ्ने अपेक्षा व्यक्त गरेका छन् । “पहिलो दिनको व्यापार सुखद छ, आज झन् दर्शकको चाप बढेको छ,” उनले भने ।
निर्देशक लक्ष्मण सुनारले फिल्मलाई कथाअनुसार प्रस्तुत गर्न आफूले सक्दो प्रयास गरेको बताए । वितरक रोहित कट्टेलले पनि दर्शकको उत्साह उत्साहजनक रहेको जानकारी दिए ।
गुरु प्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’बाट प्रेरित फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँलगायतको अभिनय रहेको छ । बाल कलाकार मन्जिलाको अभिनय दर्शकले विशेष रूपमा मन पराएका छन् ।
हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्ममा सुशील पोखरेलको लगानी रहेको छ । उनी हाल हलमै पुगेर दर्शकसँग प्रतिक्रिया लिइरहेका छन् ।
फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका हुन् । छायांकन संकल्प भुजेल, कोरियोग्राफी रामजी लामिछाने र सम्पादन मिलन श्रेष्ठले गरेका छन् । रंग संयोजन कनाल कँवरको रहेको छ ।
फिल्ममा समिर मिया र सत्यम रानाको भिएफएक्स, साहिल खानको टिजर तथा ट्रेलर सम्पादन, मुकेश शाहको मिक्सिङ र नगेन्द्र घिमिरेको निर्माण संयोजन रहेको छ ।
पाश्र्व संगीत किरण तुलाधर, संगीत शान्ति ठटाल, सत्य–स्वरुप आचार्य र प्रकाश सपुतको रहेको छ भने गीतका शब्द मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतले लेखेका छन् ।
आरआर फिल्म्सले वितरण गरेको फिल्मको डिजिटल अधिकार ओएसआरसँग रहेको छ । उल्लेखनीय छ, यो फिल्म गुरु प्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश ‘परालको आगो’ कथाबाट प्रेरित हो । यसअघि पनि यही कथामा आधारित फिल्म निर्माण भइसकेको थियो ।