फिल्मी फण्डा। अभिनेत्री रेखा थापाको निर्देशनमा तयार भएको फिल्म ‘माया भनेकै यस्तो होला’को प्रदर्शन मिति औपचारिक रूपमा घोषणा गरिएको छ । निर्माण पक्ष र वितरकबीचको सहमतिअनुसार फिल्म आगामी भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको हो ।
यसअघि तीजको अवसर पारेर रिलिज गर्ने तयारी भए पनि ठोस मिति तय गरिएको थिएन । पछिल्लो छलफलपछि तीज र कुशे औंसीको अवसर पारेर प्रदर्शन गर्ने निर्णय गरिएको निर्माण पक्षले जनाएको छ ।
फिल्मलाई रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशभर वितरण गर्नेछन् ।
नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापाले यसै फिल्ममार्फत ८ वर्षपछि निर्देशनमा पुनरागमन गरेकी हुन् । यसअघि ‘हिम्मतवाली’ र ‘मालिका’ निर्देशन गरिसकेकी रेखाको यो तेस्रो निर्देशकीय फिल्म हो ।
यसपटक उनी अभिनयभन्दा निर्देशनमा केन्द्रित भएकी छन् । साथै, आफ्नै ब्यानर ‘रेखा फिल्मस्’ बाहिर गएर निर्देशन गरेको यो उनको पहिलो प्रोजेक्ट हो ।
‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाह र उषा खड्गीको अभिनय रहेको छ । साथै लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेल लगायतका कलाकारको पनि भूमिका रहेको छ ।
फिल्मको छायांकन २८ दिनमा सम्पन्न भइसकेको छ र हाल पोस्ट–प्रोडक्सनको काम भइरहेको छ ।
हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेको फिल्ममा ध्रुव लम्सालको पटकथा रहेको छ । सुदीप बरालको छायांकन, प्रशान्त शिवाकोटीको संगीत, अनिरुद्ध आत्रेयको सहायक निर्देशन, राजन घिमिरेको संयोजन, सुजेनी मल्लको ड्रेस डिजाइन र प्रिया कार्कीको मेकअप रहेको छ ।
सुमधुर प्रेम कथामा आधारित फिल्मले सामाजिक भावना र परिवेशलाई प्रस्तुत गर्ने निर्माण पक्षको दाबी छ ।