‘रोल नं १’को टाइटल गीत रिलिज

फिल्मी फण्डा। फिल्म ‘रोल नं १’को टाइटल गीत सार्वजनिक गरिएको छ । सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको फिल्मको शीर्ष गीत रिलिज गरिएको हो ।

 

टाइटल गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको छ । गीतले नेपाली शिक्षा प्रणाली र विद्यालयमा हुने ‘र्याङ्किङ’को दौडमा बालबालिकाले भोग्नुपर्ने दबाबलाई मुख्य विषय बनाएको छ ।

 

गीतमा ग्रामीण भेगका एक बालकको कथा प्रस्तुत गरिएको छ । ‘अरू सबै मूर्ख, एउटै मात्र विद्वान’ भन्ने सोचमाथि व्यङ्ग्य गर्दै पहिलो हुने विद्यार्थीलाई मात्र महत्व दिने प्रवृत्तिको आलोचना गरिएको छ ।

 

गीतमार्फत बालमनोविज्ञान केलाउने प्रयास गरिएको छ । पढाइसँगै गलत शैक्षिक प्रणालीले बालबालिकामा पार्ने असरलाई कथा र दृश्यमार्फत प्रस्तुत गरिएको छ ।

 

भिडियोमा हिमाली भेगका सुन्दर दृश्य, ढुंगाका परम्परागत घर र ग्रामीण विद्यालयको जीवनलाई कलात्मक रूपमा देखाइएको छ । एकातिर बालक मैनबत्तीको उज्यालोमा पढ्न बाध्य छ भने अर्कोतर्फ साथीहरूसँग खेल्ने उसको चाहना दबिएको देखिन्छ । ‘रट्टा मार’ प्रवृत्तिमाथि पनि गीतले व्यङ्ग्य गरेको छ ।

 

‘हरेक विद्यार्थीको कथा’ भन्ने स्लोगनसहित विनोद पौडेलको निर्माणमा बनेको फिल्म ‘रोल नं १’ जेठ १५ गते (गणतन्त्र दिवस)देखि प्रदर्शनमा आउनेछ ।

 

जोन योञ्जनको निर्देशनमा तयार भएको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारीको मुख्य भूमिका रहेको छ । बाल कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ देखिएका छन् ।

 

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको फिल्ममा छत्रमाया गिरी र रमेश चौलागाईं सह–निर्माता छन् । फिल्मको कथा महेश दवाडीले लेखेका हुन् ।

 

म्याग्दीका विभिन्न हिमाली तथा ग्रामीण भेगमा छायांकन गरिएको फिल्मको डीओपी शिवराम श्रेष्ठ रहेका छन् । प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको ब्याकग्राउन्ड म्युजिक, फिरोड खड्का चिफ एडी, कला संग्रौलाको प्रोडक्सन डिजाइन र मनोज जोशीको प्रोडक्सन हेड रहेको छ । सम्पादन मदन घिमिरेले गरेका छन् ।

 

फिल्म नेपालसँगै विदेशमा पनि एकसाथ प्रदर्शन गर्ने तयारी गरिएको छ । वितरणको जिम्मा रिच इन्टरटेन्मेन्ट र जेएम सिनेमाले लिएका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech