फिल्मी फण्डा। शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘परालको आगो’को अग्रिम टिकट बिक्री खुला गरिएको छ । सोमबारदेखि केही हलमा बुकिङ सुरु भएको थियो भने बुधबार बिहानदेखि देशव्यापी रूपमा उत्साहजनक बुकिङ खुलेको हो ।
हालसम्म फिल्मले देशभर १०० भन्दा बढी शो पाइसकेको छ । दर्शकको चासोलाई मध्यनजर गर्दै हल सञ्चालकहरूले फिल्मलाई उच्च शो दिएका हुन् । भोलिसम्म शो संख्या अझै बढ्ने अनुमान गरिएको छ ।
१३५ मिनेट रनटाइम रहेको यस फिल्मले युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ । ट्रेलर र गीतका कारण फिल्मप्रति दर्शकको आकर्षण बढेको निर्माण पक्षले जनाएको छ।
गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन् ।
हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्ममा लगानी सुशील पोखरेलले गरेका छन् । पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका हुन् भने भिएफएक्स समिर मिया र सत्यम रानाले तयार पारेका छन् ।
फिल्मको टिजर तथा ट्रेलर सम्पादन साहिल खानले गरेका छन् । पाश्र्व संगीत किरण तुलाधरको रहेको छ भने संगीतमा शान्ति ठटाल, सत्य–स्वरुप आचार्य र प्रकाश सपुतको योगदान छ । गीतका शब्द मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतले लेखेका छन् ।
सुलभी पोखरेल र सत्यम पोखरेल निर्माता रहेको यस फिल्मलाई नेपालभर आरआर फिल्म्सले वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ । वैशाख ११ गतेदेखि प्रदर्शनमा आउने फिल्मप्रति पछिल्लो समय दर्शकको चासो बढ्दो देखिएको छ ।