फिल्मी फण्डा। मेघौली फिल्म्सको ब्यानरमा निर्माण भइरहेको डार्क कमेडी फिल्म ‘जिरो डिग्री’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ । कास्कीको धिताल गाउँमा कलाकार राजन भुसाल र प्रकाश घिमिरेको अन्तिम टेक खिच्दै सोमबार फिल्मको ‘प्याकअप’ गरिएको हो ।
३५ दिनको छायांकन तालिका तय गरेर पोखराको अर्मलाकोट मन्दिरबाट सुरु गरिएको सुटिङ ३७ दिनमा सम्पन्न गरिएको निर्माण टिमले जनाएको छ । फिल्मको छायांकन पोखरा आसपासका अर्मलाकोट, धिताल, घार्मी र बगर लगायतका रमणीय तथा मौलिक स्थानमा गरिएको छ ।
छायांकनका क्रममा निर्माण टोलीले मौसमका कारण चुनौती खेप्नुपरेको थियो । लगातार वर्षा भइरहँदा पनि सुटिङ रोकिन नदिई काम अगाडि बढाइएको थियो भने अन्तिम चरणमा लगातार ३० घण्टासम्म पनि छायांकन गरिएको निर्देशक आकास बरालले बताए । कठिन परिस्थितिका बाबजुद सेटको वातावरण उत्साहपूर्ण रहेको उनको भनाइ छ ।
सजन काफ्ले र आकास बरालको संयुक्त निर्देशन तथा पटकथा रहेको फिल्ममा अभिनेता विजय बराल फरक भूमिकामा देखिनेछन् । यद्यपि, उनको चरित्रबारे निर्माण टिमले थप विवरण सार्वजनिक गरेको छैन ।
फिल्मको कथा सडक सञ्जाल नपुगेको एक विकट गाउँमा आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तान नफर्किन्जेल शव सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर गाउँ पुग्दा उत्पन्न हुने घटनाक्रममा केन्द्रित छ ।
फिल्ममा विजय बरालसँगै प्रकाश घिमिरे, राजन भुसाल, सनिशा भट्टराई, वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाल, रमेश बुढाथोकी, लोकेन्द्र लेखक, सन्जोग रसाइली, प्रवेश महतरा क्षेत्री, शारदा सिलवाल, सबिना थापा क्षेत्री, रामबाबु रेग्मी, सुवास गजुरेल र बासु खनाल लगायतका कलाकारको अभिनय रहेको छ ।
मोती कार्की कार्यकारी निर्माता रहेको फिल्मलाई निशाल पौडेलले छायांकन गरेका हुन् । फिल्ममा चानस पुन मगरको सम्पादन, राजेन्द्र मोक्तानको रङ संयोजन, अङ्कित बाबु अधिकारीको संगीत र युवराज काफ्लेको शब्द रहेको छ ।
यो फिल्मलाई काठमाडौं उपत्यका बाहिर कुबेर सिने डिस्ट्रिब्युसन र उपत्यकाभित्र डिसिएनले वितरण गर्नेछन् ।