केकी अधिकारीको नयाँ फिल्म ‘स्टेशन’को शुभमुहूर्त, भदौ १९ मा रिलिज हुने

फिल्मी फण्डा। पछिल्लो समय फिल्म ‘बोक्सीको घर’मार्फत बक्स अफिसमा उल्लेखनीय सफलता हात पारेकी अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले आफ्नो नयाँ फिल्म ‘स्टेशन’को निर्माण कार्य औपचारिक रूपमा सुरु गरेकी छिन् ।

 

सोमबार अक्षय तृतीयाको अवसर पारेर ललितपुरस्थित बंगलामुखी मन्दिर परिसरमा फिल्मको शुभमुहूर्त गरिएको हो । मुहूर्त कार्यक्रममा निर्देशक, निर्माता तथा प्राविधिक टोलीको उपस्थिति रहेको थियो ।

 

केकीले नयाँ वर्षको अवसर पारेर यस फिल्मको निर्माण घोषणा गरेकी थिइन् । निर्माण घोषणासँगै सार्वजनिक गरिएको थिम पोस्टरले फिल्मको विषयवस्तुप्रति दर्शकमाझ कौतुहलता जगाएको छ । पोस्टरमा पुरानो काठको दराजभित्र राखिएका केही रहस्यमय सामग्री देखाइएको छ, जसले फिल्म सोसल ड्रामामा आधारित रहने संकेत गर्छ ।

 

२०८१ सालको सफल फिल्म ‘बोक्सीको घर’पछि केकीले सोही टिमसँगको सहकार्यलाई ‘स्टेशन’मा पनि निरन्तरता दिएकी छन् ।

 

केकी अधिकारी फिल्मसको ब्यानरमा निर्माण हुने यस फिल्मलाई सुलक्षण भारतीले निर्देशन गर्नेछन् । फिल्मको कथा पनि भारतीकै रहेको छ भने निर्माता बद्री अधिकारी रहेका छन् ।

 

फिल्मको शुभमुहूर्त गरिए पनि यसमा अभिनय गर्ने कलाकारहरूको नाम भने अझै सार्वजनिक गरिएको छैन । निर्माण टिमले मुख्य कलाकारबारे गोप्य राख्दै दर्शकमाझ उत्सुकता कायम राखेको छ ।

 

केकी स्वयं फिल्ममा अभिनय गर्नेछिन् वा निर्मात्रीको रूपमा मात्र रहनेछिन् भन्ने विषय पनि प्रस्ट भइसकेको छैन ।

 

तेस्रो सातादेखि छायांकन सुरु गर्ने तयारी रहेको यो फिल्म आगामी भदौ १९ गते देशभर प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।

 

‘बोक्सीको घर’जस्तो सामाजिक र गम्भीर विषयवस्तुलाई दर्शकले मन पराएकाले ‘स्टेशन’लाई पनि प्रतिक्षित फिल्मको रूपमा हेरिएको छ ।

 
 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech