‘सारथी’ फिल्मको शुभमुहूर्त, गुर्जा खानीमा ४० दिने छायांकन हुँदै

फिल्मी फण्डा। कुमार गजुरेलको डेब्यु निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘सारथी’को शुभमुहूर्त गरिएको छ । सोमबार काठमाडौंस्थित भद्रकाली मन्दिरमा पूजा गर्दै फिल्मको औपचारिक सुरुवात गरिएको हो । शुभमुहूर्तसँगै निर्माण टिम छायांकनका लागि म्याग्दीको गुर्जा खानीतर्फ प्रस्थान गरेको छ ।

 

वैशाख ९ गते बुधबारदेखि गुर्जा खानी आसपासका रमणीय स्थानमा करिब ४० दिनसम्म फिल्मको छायांकन गरिने निर्देशक गजुरेलले जानकारी दिए ।

 

यो फिल्मबाट वरिष्ठ सम्पादक तारा थापा ‘किम्भे’ निर्माता बनेका छन् । करिब तीन दशक लामो नेपाली फिल्म क्षेत्रमा गरेको सम्पादन अनुभवलाई उपयोग गर्दै दर्शकलाई उत्कृष्ट कथा प्रस्तुत गर्ने उद्देश्यले आफू निर्माणमा आएको उनले बताए ।

 

किम्भे प्रोडक्सन तथा धीरज इन्फिनिटी फिल्मस्‌को सहकार्यमा निर्माण हुन लागेको ‘सारथी’मा कलाकार उत्तम प्रधान र निरुता सिंहको जोडी करिब दुई दशकपछि पुनः एकसाथ देखिने भएको छ । यसले दर्शकमाझ उत्सुकता बढाउने विश्वास निर्माण टिमको छ । अभिनेत्री सिंह शुभमुहूर्त कार्यक्रममा उपस्थित थिइन् भने उत्तम प्रधान वैशाख १५ गते नेपाल आएर सिधै छायांकनमा सहभागी हुने तयारीमा छन् ।

 

शुभमुहूर्त कार्यक्रममा वरिष्ठ सिनेमाकर्मी लक्ष्मीनाथ शर्मा, प्रकाश सायमी र मन्जुनाथ श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी थिए । साथै, नेपाल छन्त्याल संघका पूर्व महासचिव तथा वर्तमान सल्लाहकार दीपबहादुर छन्त्यालको पनि सहभागिता रहेको थियो ।

 

फिल्ममा उत्तम र निरुतासहित मुकुन्द श्रेष्ठ, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा लगायतका कलाकारको अभिनय रहनेछ ।

 

सौर्यल थापा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता रदिप श्रेष्ठ र प्रदिप रायमाझी छन् भने लाइन प्रोड्युसरमा अमीर केसी र निर्देशक गजुरेल स्वयं रहेका छन् ।

 
 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech