राजबहादुर सानेको नयाँ फिल्म ‘गंगारानी’ सार्वजनिक, जेठमा छायांकन

काठमाडौं । लेखक तथा निर्देशक राजबहादुर सानेले नयाँ वर्ष २०८३ तथा आफ्नो जन्मदिनको अवसर पारेर नयाँ चलचित्र गंगारानी निर्माणको घोषणा गरेका छन्।

 


आहा फिल्म्सको ब्यानरमा निर्माण हुने उक्त चलचित्रको औपचारिक घोषणा गरिएको हो। सानेकै लेखन तथा निर्देशनमा बन्ने फिल्म आगामी जेठ महिनाको अन्त्यतिर छायांकनमा जाने तयारीमा रहेको जनाइएको छ।

 


प्रेमकथामा आधारित रहने यस चलचित्रका कलाकार तथा अन्य प्राविधिक पक्ष भने हालसम्म अन्तिम चरणमा टुंगो लाग्न बाँकी रहेको निर्देशक सानेले जानकारी दिएका छन्।

 


चलचित्रको घोषणा सँगसँगै सार्वजनिक गरिएको थिम पोस्टरले कथा संकेत गरेको छ। पोस्टरमा एक युवक गिटार बोकेर उभिएको देखिन्छ भने एक युवती गाडीमा आड लिएर उभिएकी छन्। निर्देशक सानेका अनुसार फिल्ममा एक गरिब युवक र धनी युवतीबीचको प्रेमकथा प्रस्तुत गरिनेछ।

 


निर्देशक सानेले यसअघि पाठशाला, द रिटर्न हिरो, लाटी, वृन्दावन, बिरंगना, डोली, गुड फ्रेन्ड, सिल्ली फो, बुलाकी, जुना र सिटामोल लगायतका चलचित्रमा काम गरिसकेका छन्।

 


विशेषगरी बुलाकी बाट उनले उत्कृष्ट पटकथातर्फ राष्ट्रिय पुरस्कारसमेत जित्न सफल भएका थिए।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech